INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई भारत लगेर जबर्जस्ती नाच्ने कार्यमा संलग्न गराइएको आरोपमा भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला थाना पकरीया ग्राम पिपराका २८ वर्षीय टिंकु भनिने अरुण जैसवाललाई प्रहरीले ०८२ असार २३ गते गिरफ्तार गरेको मानव बेचबिखन अनुसन्धानका एसपी नरेन्द्रबहादुर कुँवरले जानकारी दिनु भयो ।

पीडित महिलाका अनुसार प्रतिवादी जैसवालले फेसबुकमार्फत सम्पर्क गरी वीरगञ्जमा आयोजना हुने स्टेज डान्स शोमा सहभागी गराउने भन्दै प्रति शो ४ हजार रुपैयाँ  पारिश्रमिक, खाना बस्न निःशुल्क व्यवस्था हुने र आर्थिक अभाव भएमा लिन पठाउने आश्वासन दिएका थिए।

सोही आश्वासनमा विश्वास गरी पीडित महिला २०८१ चैत ३० गते राति ९ः१५ बजे कलङ्कीस्थित बाबा पेट्रोल पम्प नजिकबाट पठाओमार्फत थानकोट पुर्‍याइएकी थिइन्।

थानकोटबाट बस चढाई भारतको मोतीहारी जिल्ला, छौडादानो कठनौतिया पुर्‍याइ म्युजिकल आर्केस्ट्रा ग्रुप लेखिएको घरमा राखिएको र त्यहाँबाट उनलाई विभिन्न ठाउँमा दैनिक पाँच स्थानमा १७/१८ घण्टासम्म नाच्न बाध्य बनाइएको पीडित महिलाको भनाइ छ। त्यहाँ उनलाई यौन दुर्व्यवहारसमेत गरिनुका साथै बिरामी हुँदा उपचार नपाइ मोबाइल खोसी बन्धक बनाइ जबर्जस्ती काममा लगाइएको थियो।

पीडितको उद्धार माईती नेपालको पहलमा गरिएको एसपी कुँवरले बताउनु भयो। उद्धारपछि पीडितले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी जाहेरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा अनुसन्धान थालिएको छ।

अन्य

भिडियो