तातोपानी गाउँपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाले स्टेचर अभावले बिरामीको सेवा प्रवाहमा समस्या भएको गुनासो गरेका छन् । पर्याप्त स्टेचर नहुँदा बिरामी पिठ्यूमा बोकेर गाउँबाट सडकमा पु¥याउनु पर्ने बाध्यता रहेको गुनासो गरेका हुन् ।
गाउँमा ३÷४ सय घरधुरी छ । दुई÷चार जना स्वयम्सेविका छन् । तर स्टेचर एउटा मात्रै छ । तातोपानी गाउँपालिका– १ बाईराँकाकी छुमकली सार्कीले भन्नुभयो, ’राँँका र बाईराँका गाउँको गरी एउटा स्टेचर छ । एक गाउँ बिरामी पर्दा अर्काे गाउँका स्टेचर हुँदैन । बिरामी बोक्नु पर्ने बाध्यता छ । तत्काल स्टेचर आवश्यकता देखिएको छ ।’
दुई गाउँ एक स्टेचरका भरमा चलाउनु पर्दा निकै मुस्किल परेको छ । तातोपानी स्वास्थ्य चौकीको तथ्याङ्कनुसार छुमकली सार्की सबैभन्दा बढी सुत्केरी स्वास्थ्य चौकी पु¥याउने स्वयम्सेविका हुन् । उहाँले यस वर्ष नौ जनालाई स्वास्थ्य चौकी र नौ जनालाई कर्णाली प्रतिष्ठान पु¥याएर सुत्केरी गराउनु भएको छ ।
सबैभन्दा बढी सुत्केरी गराउन आफू सफल भएपनि स्टेचरको अभावले निकै समस्या भएको उहाँले बताउनु भयो । त्यस्तै तातोपानी–३ लिताकोटकी विमला परियारले साविक तीन वटा वडा रहेको लिताकोट गाउँमा एउटा मात्रै स्टेचर रहेको बताउनु भयो । लिताकोट गाउँमा नौ जना स्वयम्सेविका छन् । तर स्टेचर एउटा मात्रै छ । प्रत्येक स्वयम्सेविकाको जिम्मेवारीमा रहने गरी स्टेचर दिनु पर्ने उहाँको माग छ । त्यस्तै हाँकु स्वास्थ्य चौकी र लाम्रा स्वास्थ्य चौकी अन्र्तगतका स्वयमसेविकाले स्टेचर अभावको समस्या भएको बताउन्छन् । तातोपानी गाउँपालिकाका आठ वटा वडामा ६७ जना स्वयम्सेविका रहेका छन् । तर स्टेचर भने पर्याप्त दिइएको छैन् । तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाँईले नयाँ २० वटा स्टेचर खरिद गरेर ल्याएकोले वितरण गरिने बताउनु भयो । उहाँले भन्नुभयो, ’हामीले सबै गाउँमा पुग्नेगरी स्टेचर दिएका छौँ । संरक्षणको अभावले गर्दा स्टेचर हराउने गरेका छन् । अब जिम्मेवारी तोकेर हराएमा सम्बन्धित स्वयमसेविका जिम्मेवार हुने गरी वितरण गर्ने छौँ ।’
त्यस्तै तातोपानी–३ का वडाध्यक्ष गोकर्ण रावलले स्टेचरको समस्या समधानका लागि स्वास्थ्य शाखामा समन्वय गर्ने बताउनु भयो । सीमित स्रोत साधन हुने भएकाले सबै क्षेत्रमा काम गर्न कठिन रहेको उहाँको भनाइ छ ।