हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने अपरिचित पक्षको आक्रमणबाट घाइते हुनु भएको छ । कार्यकक्षमा केही काम छ भनि आएको अपरिचित चार जनाको समूहले ०८२ असार ४ गते दिउँसो वडा अध्यक्षको टाउकोमा टेबलमा रहेका सामग्रीले प्रहार गर्नुका साथै कालो मोबिल छ्यापेर बाहिरिएको थियो । ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपरिचित व्यक्तिको एक समूहले वडा अध्यक्ष न्यौपानेलाई आक्रमण गर्नुका साथै कालो मोबिल छ्यापेको हो ।

वडा अध्यक्ष न्यौपानेलाई नम्बर खुल्न नसकेको दुई वटा मोटरसाइकलमा आएका चारजना व्यक्तिले भौतिक आक्रमण गर्नुका साथै मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । घटनास्थालमा भूमिहीन सुकुम्बासी लेखिएको खाली रेकर्ड फाईल समेत फेला परेको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो ।
उहाँका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउकोमा प्रहार गर्नुका साथै टाउको, कपडा तथा शरीरमा मोबिल छ्यापिएको हो । आक्रमणपछि फरार रहेका व्यक्तिहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । भूमिहीन सुकुम्बासी सम्बन्धी समस्याको व्यवस्थापन गर्ने विषयमा भएको जग्गाको विवादले अध्यक्ष न्यौपाने माथि मोबिल छ्यापिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घाइते वडाअध्यक्षको हेटौँडा अस्पतालमा उपचार भयाे ।
केही समय पहिले हेटौँडा अस्पताल पछाडिस्थित सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगरपालिका र वडाले संरक्षणको कदम अघि बढाएको थियो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण दायित्व स्थानीय तहको रहेको स्थानीय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिता २०७४ लगायत कानुनको पालना गर्दै आफ्नो काममा लागिरहँदा अध्यक्ष न्यौपानेमाथि दुर्व्यवहार भएको हो ।
घटनामा संलग्नहरूको पहिचानका लागि सिसिटिभी क्यामेराको दृश्य विश्लेषण तथा फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता अर्यालले बताउनुभएको छ ।
