सर्केगाड गाउँपालिका–३ को उनापानीमा भएको आगलागीमा २० घर जलेका छन्। आगलागीबाट आठ घर पूर्ण रुपमा क्षति भएका छन् भने १२ घरमा आंशिक क्षति पुगेको वडा अध्यक्ष अकिल कार्कीले बताउनु भयो।
आगो असार १ गते राति साढे ११ बजे बृष रावतको गोठबाट सल्किएको थियो। आगलागीले धनबहादुर रावत, जनक रावत, बृख रावत, पाले फडेरा, लालकौरा फडेरा, विजन फडेराका घरहरू पूर्ण रुपमा जलेका छन्। त्यस्तै रामकृष्ण रावत, राजबहादुर रावत, जय रावत, अमृता कार्की, बिरजन फडेरा लगायतका १२ घरमा आंशिक क्षति पुगेको छ।
आगलागीबाट धनबहादुर रावतको घरमा रहेको करिब २ लाख २० हजार रुपियाँ नगद समेत जलेको छ। अन्य घरहरूमा रहेको अन्नपात, लत्ताकपडा, कागजात, घरको लालपुर्जा आदि पनि जलेर नष्ट भएका छन्।
आगलागीको सूचना पाएपछि प्रहरी टोली राति दुई बजे घटना स्थलमा पुगेको भएपनि प्रहरी र स्थानीयको सहयोगले बिहान साढे ६ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको डिएसपी शंकर पोखरेलले जानकारी दिनुभयो। आगलागीबाट मानवीय र पशु क्षति नभए पनि भौतिक सम्पत्तिको ठूलो क्षति भएको पोखरेलले बताउनु भयो।
आगलागी पीडितहरुलाई तत्काल राहतका लागि व्यवस्था गर्न वडा अध्यक्षलाई जिम्मा दिइएको छ र आफूले सर्केगाड गाउँपालिकालाई राहतको व्यवस्था मिलाउन पहल गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनु भयो।

