INSEC Online

📅 २०८३ जेष्ठ २१

रेविजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा

महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा निःशुल्क रुपमा पाइने रेविज खोपको अभाव भएपछि यस क्षेत्रका बिरामी तथा रेविज सङ्क्रमितहरु मार्कामा परेका छन् ।

महाकाली प्रादेशिक अस्पतालमा रेविज खोपको अभाव भएपछि आफूहरुले सास्ती खेप्नु परेको रेविज रोग प्रभावितहरुले गुनासो गर्नु भएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क पाइने रेविज खोपको अभाव हुँदा आफू लगायत रेविज रोगबाट प्रभावित भएका व्यक्तिहरुले नीजि अस्पताल वा स्वास्थ्य किल्निकबाट महंगोमा औषधी किन्न बाध्य हुनुपरेको रेविज संक्रमणबाट पीडित हुनुभएको भिमदत्त नगरपालिका–६ ऐठपुरकी शारदा विकले गुनासो गर्नु भयो ।

उहाँकाअनुसार अस्पतालमा निःशुल्क पाइने खोप बजारमा ६ सय ३६ रुपियाँ पर्ने गर्दछ । हामी जस्ता आर्थिक अवस्था कमजोर भएका परिवारलाई खोप किन्ननै समस्या भएको छ ।

सरकारले निःशुल्क उपलब्ध गराउनु पर्ने खोप प्रादेशिक अस्पतालमा नपाउनु दुःखद भएको शिक्षिका नारा जोशीले बताउनु भयो ।

कुकुर, बाँदर लगायत बिभिन्न पशुपन्छीले टोकेर रेविजको खोप लगाउन भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा नगरपालिका लगायतका क्षेत्रबाट भ्याक्सिन लगाउने दैनिक २० देखि २५ जनासम्म सेवाग्राही आउने गरेका र प्रादेशिक अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीले नीजि अस्पतालबाट महंगोमा किनरे ल्याएको खोप लगाई दिनेगरेको जनस्वास्थ्य निरीक्षक ओमकार जोशीले बताउनु भयो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन अर्जुन भट्टले सार्वजनिक सूचना नै जारी गरेर रेविजविरुद्धको निःशुल्क खोप अभाव भएको जानकारी गराइसकेको बताउनु भयो । सेवाग्राहीले बाह्य क्षेत्रका मेडिकलबाट खोप खरिद गरेर ल्याएमा अस्पतालका स्वास्थ्यकर्मीहरुले लगाई दिने गरेको उहाँले बताउनु भयो ।

अस्पतालमा प्रत्येक महिना रेविजविरुद्धको ४ सयदेखि ५ सय भाईल खोप खपत हुने गरेको थियो । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप उपलब्ध नहुँदा विगत १ महिनादेखि खोप अभाव भएको हो । खोप अभाव भएपछि चर्काे मूल्यमा सेवाग्राहीहरु नीजि मेडिकलबाट रेविजविरुद्धको खोप खरिद गर्न बाध्य छन् । प्रदेश आपूर्ति केन्द्रलाई खोप अभावसम्बन्धमा जानकारी गराउँदा समेत हालसम्म पनि खोप उपलब्ध हुनसकेको छैन् ।

अस्पतालमा भ्याक्सिन सकिने समस्यालाई गम्भीर रुपमा लिनु पर्ने गैससका अध्यक्ष लक्ष्मी बोहराले बताउनु भयो ।‘यो स्वास्थ्यसँग संवेदनशील विषय हो । अस्पतालमा भ्याक्सिन नहुनु निकै दुःखद कुरा हो’ उहाँले भन्नु भयो, सरकारले छिटो भन्दा छिटो भ्याक्सिन उपलब्ध गराउनु पर्छ ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्णानन्द भट्टले रेविज विरुद्धको भ्याक्सिन प्रदेश सरकारको आपूर्ति महाशाखाबाट आएपछि मात्रै उपलब्ध गराउन सकिने बताउनु भयो । ‘यो प्रदेश आपूर्ति महाशाखाबाट उपलब्ध हुने हो । सेवा रोकिँदा सेवाग्राहीहरु मारमा परेका छन् । हामीलाई राम्रो लागेको छैन’ हामीले पनि भ्याक्सिनका लागि हारगुहार गर्ने निकाय नै आपूर्ति महाशाखा हो । त्यहाँ पनि छैन् भन्ने जानकारी आएको छ । त्यही भएर आपूर्ति महाशाखाले नदिएसम्म सेवा सञ्चालन गर्ने अवस्था नरहेको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरका अध्यक्ष भट्टको भनाइ छ ।

रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्याधिक दुख्ने, पानी र हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउनेजस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख, शरीरमा घाउ हुने, रेबिजका बिरामीले पानी पिउँदा घाँटी दुख्ने, स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाँधा उत्पन्न हुने र हृदयाघात तथा मृत्यु पनि हुनसक्छ ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था गरिएको भएता पनि स्थानीयहरुले आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको छ ।

अन्य

भिडियो