नमो अनलाइन डटकमका ३० वर्षीय पत्रकार जुगेशबाबु दासले आफूलाई समाचारको विषयलाई लिएर प्रहरीले गोडा भाँचिने धम्की दिएको बताउनु भएको छ ।
देवानगञ्ज गाउँपालिका-१ का ३० वर्षीय पत्रकार दासले देवानगञ्ज गाउँपालिका-१ मध्यहर्षाहीमा ०८२ जेठ २० गते किसानहरुले सडकमा मकै सुकाएको समाचार नमो अनलाइन डटकमबाट प्रसारण गरेपछि प्रहरी जवान अरुण मेहताले जेठ २२ गते फोनमार्फत गोडा काटी दिने धम्की दिएको पीडित पत्रकारले बताउनु भयो ।
विराटनगरमा पोष्टिङ् भएका जवान मेहताले पैसा लिएर समाचार लेखेको भन्दै गोडा काटीदिने धम्की दिएको पीडित पत्रकार दासको आरोप छ ।
पीडित पत्रकारले धम्की दिने प्रहरीलाई कारबाहीको माग गर्दै जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुमन थापाले धम्कीको विषयमा सूचना प्राप्त गरेको र दुवै पक्षलाई बोलाएर घटनाको वास्तविकता बुझी कानुनी कारबाही अघि बढाउने बताउनु भएको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षक भनि परिभाषित गरेको छ ।