मानव अधिकार दिवसको अवसर पारेर इन्सेक कञ्चनपुर, मानव अधिकार निगरानी समूह, कोक्याप र अपाङ्ग महिला सङ्घ कञ्चनपुरको संयुक्त आयोजनामा मङ्सिर २४ गते महेनद्रनगरमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको इन्सेक प्रतिनिधि कोमलनिरञ्जन भाटले जानकारी दिएका छन् ।

६९ औं मानव अधिकार दिवसको अवसर पारेर युवा स्वयम्सेवक समूह र अपाङ्ग महिला समूहका पदाधिकारीहरूलाई मानव अधिकारका बारेमा जानकारी गराउने उद्धेश्यले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा मानव अधिकारको परिभाषा, नागरिक तथा राजनीतिक अधिकार र आर्थिक सामाजिक र सांस्कृतिक अधिकारलगायतका विषयमा भाटले सहजीकरण गरेका थिए ।

यसैगरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन र मानव अधिकार दिवसको अवसर पारेर मदनचोकमा दिप प्रज्वलनसमेत गरिएको छ ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार ६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा विभिन्न सङ्घसंस्थाहरू राष्ट्रिय मानव अधिकार आयोग उप-क्षेत्रीय कार्यालय बुटवल, इन्सेक रुपन्देही, लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नपा, मधेश मानव अधिकार गृह, थर्ड एलाइन्स रुपन्देही, कदम नेपाल, राष्ट्रिय अपाङ्ग महासङ्घ र मानव अधिकार तथा शान्ति समाजले विभिन्न प्लेकार्डसहित प्रभातफेरी र्याली निकालेका थिए ।

र्यालीपछि आयोजित सभामा बोल्दै सरोकारवालाहरूले अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीलाई मानव अधिकारमैत्री शहर बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सयौँ वर्षअगाडि नै गौतमबुद्धले मानब अधिकारका पक्षमा आवाज उठाएकाले लुम्बिनीबासीलाई मानव अधिकारको प्रत्याभूति दिलाएर लुम्बिनीलाई मानवताको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले आधारभूत मानव अधिकारका लागि सबैले आवाज उठाउन पाउने अधिकार भएको भन्दै मानव अधिकारको संरक्षणका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले लुम्बिनीलाई मानव अधिकारमैत्री शहर बनाउन आफूले सक्दो पहल गर्ने बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय(अवधेस तिवारी) ले भगवान गौतम बुद्धले मानव मात्र नभई सम्पूर्ण जीवित प्राणी भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सन्देश विश्वभर फिजाएकाले उनको सन्देश मानव जगतकै लागि अनुशरण योग्य रहेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख बुद्ध शाहनीले विभिन्न समस्याका कारण समग्र मानव अधिकारको अवस्था सन्तोषजनक नभएको बताए । एक वर्षको अवधिमा विभिन्न किसिमका २१ ओटा उजुरीहरू उप-क्षेत्रीय कार्यालय बुटवलमा दर्ता भएको जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले समाजमा सामाजिक न्याय र विषमता अन्त्य भएमात्रै मानव अधिकारको प्रत्याभूति हुने भएकाले संविधानले प्रत्याभूत गरेका विषयहरू कार्यन्वयन गर्न विशेष चासो राख्नु पर्ने विचार राखे ।