हुम्लाका महिलाहरूमा रक्त अल्पताको समस्या बढ्दै गएको छ । महिलाको रक्त अल्पताको स्थलगत रूपमा परीक्षण गर्दा यस्तो समस्या देखिएको हो ।
सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका गर्भवती, पाँच वर्षमुनी र प्रजनन् क्षमता भएका महिलाहरूलाई परीक्षण गर्दा यो समस्या देखिएको हो । परीक्षण कार्यमा सहभागी हुनुभएकी स्वास्थकर्मी शुशिला शाहले पाँच वर्षमुनि र १५ देखि ४९ वर्ष उमेरकी गर्भवती महिलामा यो समस्या बढी देखिएको बताउनु भयो । दुई ओटा गाउँपालिका गरी ६ सय ९१ जना महिलाको रक्त अल्पता परीक्षण गरिएको छ । परीक्षण मेशिन समेत गाउँगाउँमै लगेको कारण तत्काल त्यसको परिणाम पत्ता लगाउने कार्य भएको हो ।
परीक्षण गरिएका महिलाहरू मध्य पाँच वर्ष मुनी र १५ देखि ४९ वर्ष उमेरका गर्भवती महिलामध्ये ६५ प्रतिशतमा यो समस्या देखिएको हो । १५ देखि ५० वर्ष उमेर समूहका प्रजनन् क्षमता भएका तर गर्भवती नभएको महिलामा भने यो समस्या तुलनात्मक रूपमा कम देखिएको शाहीले बताउनु भयो ।
रक्त अल्पता परिक्षण सिमकोट गाउँपालिकाका–१,२, ६, ७ र ८ तथा खार्पुनाथ गाउँपालिका–१, ४ र ५ का गर्भवती, १५ देखि ५० वर्ष उमेरका अन्य महिला र पाँच वर्षुमनिका बालिकाहरूको गरिएको हो ।
सिमकोट गाउँपालिकामा उक्त राेगकाे परीक्षण गर्दा रक्त अल्पता देखिएकाे सिमकाेट गाउँपालिका स्वास्थ्य शाखा संयाेजक नरबहादुर भण्डारीले बताउनु भयाे । संयाेजक भण्डारीका अनुसार यसकाे तत्काल राेगथाम गर्ने कुनै उपाय छैन । अब आगामी साउनदेखि राेगथाम गर्ने केही उपाया अपनाउनु पर्ने संयाेजक भण्डारीकाे भनाइ छ ।