INSEC Online

📅 २०८३ जेष्ठ २१

अक्सिन अभावमा पाल्पा अस्पतालमा बिरामी उपचार र भर्ना सेवा प्रभावित

अक्सिजन अभाव हुँदा पाल्पा अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिग्रिएको र अन्य स्थानबाट समेत अक्सिजन ल्याउन नसकिएपछि अस्पतालमा बिरामी भर्ना गर्न छाडिएको छ ।

अस्पतालमा १५ ओटा बेड रहेका छन् । अहिले कुनै पनि बेडमा बिरामी छैनन् । बिरामी भर्ना गरेपछि उनीहरूलाई आवश्यक पर्दा अक्सिजन उपलब्ध गराउन नसकिने भएकोले एक हप्तादेखि अस्पतालमा बिरामी भर्ना गरी उपचार गर्ने क्रम रोकिएको अस्पतालका डा. राजेन्द्र पौडेलले बताउनु भयो । अक्सिजन प्लान्ट बनाउने प्रयास भइरहेको केही दिनमा बन्छ भन्ने आश्वासन प्राप्त भएको उहाँले बताउनु भयो ।

कोरोना सङ्क्रमणको बेला पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । यहाँ प्रति दिन ४० लिटर क्षमताका ५० ओटा सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्ट रहेको छ । पाल्पा अस्पतालमा ३ करोड बजेट लागतमा दुई बेड भेन्टिलेटर र पाँच बेड आइसीयु सञ्चालनमा छन् । अक्सिजन अभावमा यी बेड समेत बन्द गरेर राखिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले अक्सिजन अभावमा बिरामीको भर्ना र उपचार सोव प्रभावित भएपछि अनुगमन गरी तत्काल प्लान्ट मर्मत गरी सञ्चालन गर्न निर्देशन दिइएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी सहितको टोलीले पनि अस्पतालको सेवा प्रवाहको अनुगमन गर्नुभएको थियो । अस्पतालमा बिरामीहरूको नियमित परीक्षण र उपचार भने अवरुद्ध भएको छैन । यहाँ बहिरङ्ग सेवाका लागि दैनिक ४ सय बढी बिरामीहरू आउने गरेका छन् ।

अन्य

भिडियो