INSEC Online

📅 २०८३ जेष्ठ २१

कपिलवस्तुमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै !

कपिलवस्तुमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढदै गएको छ । सन् २०२४ को अवधिमा एआरटी सेन्टरमा ८ सय ८० जनासँग गरिएको परामर्श पछि एचआइभीको सङ्क्रमणको परीक्षणका क्रममा २० जनामा नयाँ सङ्क्रमण फेला परेको एएचएफका तर्फबाट कपिलवस्तु अस्पतालमा रहेको एआरटी केन्द्रका परामर्शदाता कुसुम थापाले बताउनु भयो ।

नयाँ सङ्क्रमित भएकामध्ये १२ जना पुरुष, सात जना महिला र एक जना समलिङ्गी रहेका छन् । त्यसैगरी समुदाय स्तरमा २ सय ८ जना शङ्कास्पद सङ्क्रमित केन्द्रित गरिएको परीक्षणका क्रममा थप ६ जना नयाँ सङ्क्रमित फेला परेको एएचएफको तथ्याङ्कमा छ । सो अवधिमा एआरटी सेन्टरमा सेवा लिन आउने सङ्क्रमितको सङ्ख्या ४० थपिएको छ । जिल्ला अस्पतालमा रहेको एआरटी सेन्टरमा सन् २०२४ को अवधिमा ७ सय ९९ एचआइभी सङ्क्रमितको सङ्ख्या रहेको तथ्याङ्क छ । जसमध्ये एआरटी सेन्टरमा सन् २०२४ को अवधिमा एआरभिको औषधी उपचारको सेवा लिने सङ्क्रमितको सङ्ख्या ४ सय ९९ रहेकोमा यो वर्ष ११ जना सङ्क्रमितको मृत्यु भइ हाल ४ सय ८८ जनाले नियमित उपचार सेवा लिँदै आएको परामर्शदाता थापाले बताउनु भयो । सोही अवधिमा एआरटी सेन्टरबाट ९ जना सङ्क्रमित आमाले बच्चामा एचआइभीको सङ्क्रमण हुन नदिन (पिएमटीसिटी) सेवा लिएर सङ्क्रमण नभएका स्वास्थ्य बच्चा जन्माएको जनाइएको छ ।

त्यसैगरी सङ्क्रमितलाई एआरटी सेन्टरमा सेवा लिन प्रोत्साहित गर्न अस्पताल र समुदायस्तरमा सचेतनाका कार्यक्रम गर्ने गरिएको । एआरटी सेन्टरमा सङ्क्रमितलाई दिइने एआरभी (एन्टीरेट्रो भाइरल) औषधीले सङ्क्रमितको शरीरमा रहेको एचआइभीको भाइरल लोड कम गर्ने काम गर्ने र जसका कारण सङ्क्रमितले अरुलाई सङ्क्रमण सार्न सक्ने सम्भाव्यता घटाउने काम गर्ने चिकित्सकको भनाइ छ । त्यसैगरी एआरभीका कारण शरीरमा सिडीफोर सेलको सङ्ख्यामा वृद्धि आइ रोगसँग लड्न सक्ने रोगप्रतिरोधात्मक क्षमतामा सुधार आउँदै जान्छ । पछिल्लो समय सेन्टरमा रहेको सिडीफोर सेल गणना गर्ने मेसिन बिग्रिएर थन्केका कारण रगतको नमुना परीक्षणका लागी अन्यत्रै पठाउनु पर्ने बाध्यता देखिएको छ ।

एएचएफका कार्यक्रम संयोजक धर्मराज भट्टराईका अनुसार परियोजनाका मुख्य लक्षित समुदाय केन्द्रित एचआईभी रोकथाम, जाँच तथा लिङ्केज सेवामा सुधार र विस्तार गर्नु, एआरटी केन्द्रहरूमा गुणस्तरीय उपचार, हेरचाह तथा सेवाको पहुँचमा वृद्धि गर्ने, सेवा गुणस्तरीय बनाउन समन्वय, सञ्जालीकरण र वकालतलाई बलियो बनाउने रहेको बताउँदै पछिल्लो समय आप्रवासीहरूमा सङ्क्रमण बढी देखिन थालेकाले सजगता अपनाउनु पर्नेमा जोड दिनुभयो ।

सचेतना अभावका कारण किशोरावस्थामै असुरक्षित यौन सम्बन्ध राख्ने र सोको जोखिम कम गर्ने भन्दै आकस्मिक परिवार नियोजनका साधन प्रयोग गर्ने, एचआइभी सङ्क्रमण बारेको गम्भीरता र सजगता घट्दै गएको र सङ्क्रमणको तथ्याङ्कमा सो क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायहरू बिचको एकरूपता हुनुपर्ने अधिकारकर्मी रुकैया खातुनको भनाइ रहेको छ ।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले एचआइभी सङ्क्रमण रोकथाम क्षेत्रमा क्रियाशील सङ्घ संस्थाको कार्यक्रम र तथ्याङ्कहरूमा एकरूपता ल्याउन स्वास्थ्य कार्यालयले समन्वय र सञ्जालीकरण गर्न भूमिका खेल्नु पर्ने बताउनु भयो ।

कपिलवस्तु नगरपालिकाका सामाजिक विकास शाखाका प्रशासकीय अधिकृत पदमराज श्रेष्ठले सङ्क्रमितलाई गरिने हेयभाव, भेदभाव, लाञ्छना र सामाजिक बहिष्कारका घटना रोक्न सबै पक्षको सजगता आवश्यक रहेको रणनीतिक योजना सहित सङ्क्रमण र सङ्क्रमितलाई खोजी केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।

अन्य

भिडियो