तिला गाउँपालिका–५, डुङ्ग्रीगाउँमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । गाउँमा पानीको स्रोत नहुँदा स्थानीयले समस्या भोग्नु परेको हो । ४५ घरधुरी परिवारको बसोबास रहेको गाउँमा दशकौँदेखि खानेपानीको अभाव रहँदै आएको छ ।
सिङ्गो गाउँको एउटा मात्र खानेपानीको धारो हुँदा पानी भर्न लाइन लाग्नु परेको स्थानीयले बताएका छन् । ४५ घरधुरीको साझा धारो छ । सबैले त्यही धाराको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ ।
स्थानीय कालीबहादुर रावतका अनुसार मानिस र पशुचौपायाले एउटै धाराको पानी खानुपर्ने अवस्था छ । गाउँ नजिकै पानीका मुहान नभएकाले पशुवस्तु र मानिसले एउटै धारा प्रयोग गर्नु परेको छ । गाउँको चारैतिर पानीको मुहान नहुँदा खानेपानीको चरम सङ्कट रहेको उहाँको भनाइ छ ।
गर्मी तथा खडेरीको समयमा धारामा पानी सानो आउने गर्दछ । जसका कारण पानी भर्न लामो लाइन बस्नुपर्ने अवस्था रहेको रावतले बताउनु भयो । यस्तै जाडोयाममा धारोमा पानी जम्ने हुँदा स्थानीयवासीले हिउँ पगालेर खानेपानीको जोहो गर्ने गर्छन् । लामो समयदेखि खानेपानीको समस्याले डुङ्ग्रीगाउँका स्थानीयले दुःख भोग्दै आएका छन् । खानेपानीको समस्या समाधानका लागि स्थानीय सरकारले पहल नगरेको नागरिकको गुनासो छ ।
तिला गाउँपालिका–५ का वडाध्यक्ष ललितबहादुर शाहीले गाउँ नजिकै भएका पानीका स्रोत प्रयोग गरिएको बताउनु भयो । भएका पानीका स्रोत गाउँमा ल्याइएको छ तर गाउँमा पुगेको खानेपानीले समस्या हल नभएको उहाँको भनाइ छ । गाउँ नजिकै रहेको धाराखोला मुहानको पानी डुङ्ग्री गाउँमा पुर्याउन यस पटक चार लाख रुपियाँ खर्च गरिएको छ । उपलब्ध पानीका स्रोत सङ्कलन गरी गाउँमा खानेपानी पुर्याइएको शाहीले बताउनु भयो । खानेपानीको स्रोत नजिक नभएकाले गाउँमा खानेपानीको समस्या छ । उपलब्ध भएका पानीका स्रोत भने गाउँमा पुर्याइएको वडाध्यक्ष शाहीको दाबी छ । डुङ्ग्री गाउँमा देखिएको खानेपानीको समस्या हल गर्न वडा सरकार लागिपरेको उहाँले बताउनु भयो । सिँजा गाउँपालिका–६ मा पर्ने जोडु भाँडगाउँमा पानीको स्रोत भए पनि त्यहाँका स्थानीयले दिन मानेका छैनन् ।
