INSEC Online

📅 २०८३ जेष्ठ २१

राउटे समुदायलाई छाक टार्नै मुस्किल !

बराहताल गाउँपालिका–९ स्थित सोतखोला बस्तीमा राउटे मुखिया सूर्यनारायण शाहीको ०८२ वैशाख १५ गते निधन भएपछि बस्तीमा खाद्य सङ्कट चुलिएको छ । सरकारले समयमै सामाजिक सुरक्षा भत्ता नदिँदा राउटे समुदायलाई साँझ बिहानको छाक टार्न मुस्किल परेको छ । चार महिनादेखि उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । उनीहरू अहिले सुर्खेतका दुई ठाउँमा बस्दै आएका छन् । एक बस्ती बराहताल गाउँपालिका–९ को सोतखोला किनारमा र अर्को बस्ती वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएका छन् । सोतखोलामा बस्दै आएका १९ घरधुरीका मुखिया सूर्यनारायणको मृत्यु भएपछि नयाँ मुखिया को बन्ने ? भन्ने विषय टुङ्गो लागेको छैन ।

प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको यो बस्तीमा एक महिनायता कुनै दाताले पनि सहयोग नगर्दा खाद्य सङ्कट भएको राउटे अगुवा शेरबहादुर शाहीले बताउनु भयो । ‘घरमा भएको चामल मुखियाको काजकिरियामा सकियो । न सरकारले भत्ता दिन्छ । नत कोही दान गर्ने मान्छे नै आउँछन् । हामीले बनाएका काठका सामानहरू बिक्री हुँदैनन् । अहिले त हामी रानो बिनाका मौरीजस्तै भएका छौँ’ – मृतक सूर्यनारायणका भाइ समेत रहनुभएका शेरबहादुरले भन्नुभयो । उहाँले आफूहरूलाई छाक टार्न मुस्किल परेको भन्दै सरकारलाई छिटो भत्ता उपलब्ध गराउ अनुरोध गर्नुभयो ।

राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिकाले दिने गरेको छ । हरेक तीन/तीन महिनामा भत्ता दिने गरेको गुराँस गाउँपालिकाले चार महिना बित्दा पनि उपलब्ध नगराएपछि राउटे समुदाय आक्रोशित भएका छन् । वीरेन्द्रनगरको करेखोलामा बस्दै आएको राउटे समुदायका लागि सानोतिनो सहयोग जुटिरहेको मुखिया वीरबहादुर शाहीले बताउनु भयो । ‘अहिले त कसैको मृत्यु हुँदा समेत किरिया गर्ने खाना छैन । एक दुई बोरा चामल सहयोग आएको छ । त्यसैले गुजरा गरिरहेका छौँ । हाम्रो त किरिया गर्न पनि १३ दिनसम्म सबै घरलाई खाना खुवाउने, चामलबाट रक्सी पनि बनाउनुपर्छ । भत्ता नपाएको पनि चार महिना भैगो’ – उहाँले भन्नुभयो । वीरबहादुरले सोतखोला बस्तीमा मुखियाको मृत्यु भएसँगै खाद्य सङ्कट आएकोले खाद्यान्न मिलाइदिनका लागि अपिल गर्नुभयो ।

उता गुराँस गाउँपालिकाका प्रवक्ता दीपेन्द्र वलीले यो पटक विवरण पठाउन ढिलाई भएका कारण समयमा भत्ता दिन नसकिएको बताउनु भयो । ‘पालिकाबाट सङ्घ सरकारमा विवरण पठाउन ढिलाइ भएका कारण सामाजिक सुरक्षा भत्ता आउन ढिलो भएको हो । यही हप्तामा नै दुई बस्तीमा गएर राउटे समुदायलाई तीन महिनाको भत्ता एकमुष्ट वितरण गर्छौँ’ – उहाँले भन्नुभयो ।

२०७५ सालमा १ सय ४९ रहेको राउटेको जनसङ्ख्या थियो । राउटे समुदायको हालको जनसङ्ख्या १ सय ३५ जना हो । ७५ जना महिला र ६० जना पुरुष छन् । लोपोन्मुख फिरन्ते जातिका रूपमा रहेको राउटे समुदायको जनसङ्ख्या पछिल्ला वर्षहरूमा तीव्र गतिमा घट्न थालेको छ । राष्ट्रिय मानव अधिकार आयोगले घुमन्ते–फिरन्ते राउटेको मानव अधिकार अवस्थाका विषयमा गरेको अध्ययन प्रतिवेदन २०८१ ले राउटेको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै गएको देखाएको थियो । आयोगले पछिल्लो ६ वर्षको अवधिमा राउटे समुदायमा गरेको तुलनात्मक अध्ययनमा जन्मदरभन्दा मृत्युदर बढी रहेको औँल्याएको थियो । राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु/नराख्नु, प्रजनन् स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसम अनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभाव जस्ता कारणले राउटेको जनसङ्ख्या घट्दै जान थालेको आयोगको अध्ययनमा उल्लेख छ । राउटे कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सल्यान र सुर्खेत, सुदूरपश्चिम प्रदेशको अछाम, लुम्बिनी प्रदेशको दाङसम्म पुग्ने गरेका छन् ।

Photo24052025Surkhet.

अन्य

भिडियो