धनुषाको मिथिला नगरपालिका ११ दिनदेखि तालाबन्दीको अवस्थामा छ । उपप्रमुख सुनिता सिंह बुदाथोकीले ०८२ वैशाख ३१ गतेदेखि योजना शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएपछि जनताले पाउने सेवा सुविधा तथा दैनिक कार्य समेत प्रभावित भएको छ।
उपप्रमुख बुढाथोकीका अनुसार आफूलाई योजनामा प्रतिबन्ध लगाएपछि नगरपालिकामा तालाबन्दी गरिएको हो । नगर प्रमुख महेन्द्र महतोले आफ्नो अधिकारमाथि हस्तक्षेप गरेको कारणले गर्दा ०८१ मङ्सिर १३ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेको सो मुद्दा फिर्ता लिनको लागि पटकपटक दबाब दिँदै आएको र मुद्दा फिर्ता नलिएसम्म योजना चलाउन नदिने भनेकोले तालाबन्दी गरिएको उपप्रमुख बुढाथोकीले बताउनुभयो।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएकै दिनदेखि नगरप्रमुख महतोले दादागिरी शैलीमा नगरपालिकालाई चलाउन खोज्नुका साथै प्रमुख प्रशासकीय अधिकृत अशोक भण्डारीलाई मिलाएर वडादेखि नगरस्तरीयसम्मको बजेट एक्लौटी रुपमा कार्यान्वयनमा ल्याएको योजना चलाउन खोजेको स्थानीय अगुवा समाजसेवी पशुपति महतोले बताउनुभयो ।
नगरपालिकामा ११ दिनदेखि तालाबन्दी हुँदा आम जनताको कामकाजमा समेत प्रभाव परेकोले छिटो भन्दा छिटो यो समस्यालाई समाधान गरी जनताहरूलाई आफ्नो हक अधिकारबाट वञ्चित नगर्नहुन र यस विषयमा गम्भीर हुन नगरप्रमुखलाई ध्यानाकर्षण गराउन चाहेको एक स्थानीय सत्यनारायण शाहको भनाइ रहेको छ ।
नगर प्रमुख महतोका अनुसार नगरसभा विरुद्ध जिल्ला अदालतमा दायर गरेको मुद्दा उपर अदालतले पालिकाको पक्षमा आदेश गरेको थियो। तर फेरि सोही मुद्दा उच्च अदालतमा उपप्रमुखले पुनरावेदन गरेको कारण बजेट सञ्चालन गर्नबाट रोक लगाएको र मुद्दा फिर्ताको विषयमा उपप्रमुखसँग मौखिक सहमति भएपनि उहाँ मुद्दा फिर्ता लिन आलटाल गरेकोले बजेट सञ्चालनमा रोक लगाउन बाध्य भएको नगरप्रमुख महतोले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीले यस विषयमा नगरप्रमुखसँगै प्रतिक्रिया लिन आग्रह गर्नुभयो ।