डाक्नेश्वरी नपा–८ को गम्हरिया प्रवाहा मतदान केन्द्र र राजविराज नपा–७ स्थित राप्रावि खैरसाल मतदान केन्द्रको १ सय मिटर दुरी भित्र मङ्सिर २१ गते बिहानैदेखि राजनीतिक दलका नेता कार्यकर्ताहरूले जेरी, पुरी, छोला, मुरहीलगायतको भोज गरेका छन् । मतदातालाई प्रभावमा पार्न भोजको व्यवस्था गरी मतदान गर्न पठाउने गरेको पर्यवेक्षणमा संलग्न पवनकुमार साहले बताए ।
यसैगरी बेल्ही चपेना गाउँपालिका वडा नं.–३ को जनता शकर मा. वि नर्घो, ख को मतदान केन्द्रमा महिला मतदाताहरूको मत नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले नजिकै बसेर आफनो पक्षमा खसालेका छन् ।

राजविराज नपा–६ स्थित आधारभूत विद्यालय थानगाछी मतदान केन्द्रमा बिहान केही बेर कर्मचारीहरूको लापरबाहीका कारण मतदाताहरूले हस्ताक्षर गरेको अधकट्टीसहितका मतपत्रहरु खसाएका छन् भने कतिपयले प्रत्यक्षतर्फ प्रतिनिधि सभाको मात्र मत खसाएर फर्किएको स्थानीय मनोज मेहतरले बताए । कर्मचारीको हेलचेक्र्याई र मतदाता शिक्षाको अभावमा सम्पूर्ण मत खसाउनबाट मतदाताहरू वञ्चित भएको उनले बताए ।
राजविराज निमावि केन्द्र न. ६ मतदान केन्द्रमा प्रतिनिधि सभाको मतपत्र लिएपछि च्यातेर फालेको आरोपमा ३० वर्षीय लालु साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी राजविराज नपा–९ स्थित मलेठ केन्द्र र तिलाठी कोइलाडी–२ स्थित लौनिया स्वास्थ्य चौकी केन्द्रमा दुई पक्षबिच विवाद हुँदा केहीबेर होहल्ला भएको थियो । होहल्ला गरी अशान्ति मच्चाएको आरोपमा लौनियाबाट स्थानीय श्यामकुमार यादव र सुशिलकुमार पाण्डेयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।