INSEC Online

📅 २०८३ जेष्ठ २१

तिल गाउँका १८ घर परिवारले खोलाको धमिलो पानी खान बाध्य !

नाम्खा गाउँपालिका–६, तिल गाउँका स्थानीय बासिन्दा खोलाको धमिलो पानी खान बाध्य भएका छन् । जेठ १ गते आएको बाढीले खानेपानी, घर, पुल, सिचाईँ र जलविद्युत् आयोजनामा क्षति पुर्‍यानुका साथै १८ परिवार घर छोडेर खुल्ला आकाश मुनिको त्रीपालमुनि बस्न बाध्य भएका हुन् ।

गाउँ भन्दा माथिको हिमताल भासिएर लेदो सहितको बाढीले खानेपानीको संरचना समेत क्षति भएपछि स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएका हुन् । गाउँमा खानेपानीको पाइप र धारा नै बाढीले बगाएपछि एक हप्तादेखि गाउँ नजिकैको गुनछुसा खोलाको धमिलो पानी खान बाध्य भएको नाम्खा गाउँपालिका–६ तिल गाउँका स्थानीय कन्जोक फुर्व लामाले गुनासो गर्नुभयो ।

‘कतिबेला धमिलो पानी आउँछ । कतिबेला सफा आउँछ । पानी त खानै पर्‍यो’ – लामाले भन्नुभयो । झण्डै एक सातादेखि खोलाको धमिलो पानी खान बाध्य भएको अर्का स्थानीय सोनाम साङमु लामाले बताउनु भयो । धमिलो खानेपानीका कारण गाउँका बासिन्दा बिरामी हुने चिन्ता भएको लामाको भनाइ छ ।

तिल गाउँमा खानेपानी मर्मतका लागि पाइप पठाउन सहयोग गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीइओ इ. दिनेश भट्टले बताउनु भयो । तर पनि हाल तिल गाउँका स्थानीय नागरिकले खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता छ ।

Photo21052025Humla

अन्य

भिडियो