गुल्मीमा आगलागी र मनसुनजन्य विपत् पीडित परिवारका लागि पहिलो किस्ता निकासा भएको छ । आगलागी र मनसुनजन्य विपत् पीडितहरूले लामो समय किस्ता नपाएको विषयमा पटक–पटक इन्सेक अनलाइनमा समाचार प्रकाशित भएकाे थियो । लामो समयपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रकम स्थानीय तहको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला विपत् व्यवस्थापन कोषमा तीनै तहबाट जम्मा भएको रकम लाभग्राहीको आधारमा स्थानीय तहमा पठाइएको जिल्ला प्रशासन कार्यालयका लेखापाल पुष्पा पाण्डेयले बताउनु भयो । उहाँका अनुसार मनसुनजन्य विपत् पीडित धुर्कोट गाउँपालिकाका १ सय २४, रेसुङ्गा नगरपालिकाका ७६, कालिगण्डकी गाउँपालिकाका ३७, रुरु क्षेत्र गाउँपालिकाका १९, इस्मा गाउँपालिकामा १३, चन्द्रकोट गाउँपालिकाका १४, मुसिकोट गाउँपालिकामा आठ, मदाने गाउँपालिकाका तीन, मालिका गाउँपालिकाका ११, गुल्मीदरवार गाउँपालिकाका चार, छत्रकोट गाउँपालिकामा दुई र सत्यवति गाउँपालिकाका एक जना गरेर ३ सय १२ जनाको लागि रकम निकासा भएको हो ।
त्यस्तै आगलागीबाट पीडित इस्मा गाउँपालिकाका २९, छत्रकोट गाउँपालिकाका तीन, रेसुङ्गाका दुई, धुर्कोटमा दुई, मालिकाका दुई, कालिगण्डकीका दुई, रुरुक्षेत्रका चार, मदानेका दुई र मुसिकोटका एक जना गरे ४७ जनाको रकम निकासा भएको हो । सबै जनाले पहिलो किस्ता बापतको ५०/५० हजार रुपियाँ पाउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनुभयो । पहिलो किस्ताको लागि केन्द्रबाट १ करोड ६० लाख रुपियाँ र प्रदेशबाट ५३ लाख ८५ हजार रुपियाँ जिल्ला विपत् व्यवस्थापन कोषमा प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताउनु भयो ।
आर्थिक वर्ष ०८०/८१ मा क्षति भएका अधिकांश र चालु आर्थिक वर्षमा क्षति भएका कम व्यक्तिले मात्रै पहिलो किस्ता पाउने गैरैले बताउनु भयो । उहाँले धेरै पहिलेदेखि रोकिएका किस्ताहरूको लागि केन्द्रमा रकम माग भएको र अहिलेको रकम स्थानीय तहहरूले आफ्नो मापदण्ड अनुसार वितरण गर्ने बताउनु भयो ।