जुम्ला करागारका कैदीबन्दीका लागि सीप विकास सिलाइकटाई तालिम सञ्चालन गरिएको छ । कारागार विभाग, कारागार कार्यालय जुम्लाको आयोजनामा एक महिने सीप विकास सिलाईकटाई तालिम सञ्चालन गरिएको हो ।

सिलाइकटाई तालिम रत्नकली नेपालीले सहजीकरण गर्नु भएको छ । उहाँले भन्नुभयो – ‘मैले सिकेको सीप बाँड्ने अवसर पाएकी छु । म आफ्नो तर्फबाट सकेसम्म राम्रोसँग सिकाउने प्रयास गर्ने छु ।’
तालिममा ३० जना कैदीबन्दी सहभागी छन् । कैदीबन्दीको सीप विकास गरी उहाँहरूलाई आत्मनिर्भर बनाउन र रोजगारीसँग जोड्ने उद्देश्यले सिप सिकाउन खोजिएको कारागार प्रशासनले जनाएको छ । तालिमले कैदीबन्दीको क्षमता अभिवृद्धि गर्नुका साथै उहाँहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले बताउनु भयो ।
जुम्ला कारागारमा चार जना महिलासहित १ सय जना कैदीबन्दी रहेका छन् । १ सय जना कैदीबन्दीमध्ये ३० जनाले मात्रै सिलाईकटाई तालिम पाउने भएका छन् । कैदीबन्दी सबै जनाले कम्तिमा पनि तीन महिनाको तालिम भएको भए धेरै कुरा सिक्न सकिने कैदीबन्दीले जनाएका छन् ।