कोशी प्रदेशको तीन महिनाको मानव अधिकार अवस्था सार्वजनिक गरिएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको तीन महिनाको मानव अधिकार अवस्था स्थितिसूचकमार्फत सार्वजनिक गरेको हो ।
तीन महिनाको अवधि अर्थात् ०८१ पुस १६ गतेदेखि चैत १८ गतेसम्ममा कोशी प्रदेशमा सरकारको सुरक्षा र नियन्त्रणमा रहेका ६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
इन्सेक अभिलेखका आधारमा झापा, मोरङ र सुनसरीमा रहेका कारागारमा पाँच जना र प्रहरीको व्यारेकमा एक गरी ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको व्यारेकभित्र एक सइ र कारागारमा एक कैदी गरी दुई जनाको मृत्यु भएको छ । जिल्ला कारागार मोरङका तीन जना र सुनसरी झुम्का कारागारमा एक जना गरी चार जनाको मृत्यु भएको इन्सेकले सार्वजनिक गरेको स्थितिसूचकमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेमा कानेपोखरी गाउँपालिका-७ का ४९ वर्षीय सइ धनराज खतिवडाको फागुन ४ गते झुण्डिएर मृत्यु भएको र जिल्ला कारागार झापामा भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको इन्सेकको स्थितीसूचकमा उल्लेख छ ।
जिल्ला कारागार मोरङमा रहेका बेलवारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राइको पुस २० गते, पथरीशनिश्चरे नगरपालिका-४ का जेठा भनिने जितबहादुर देवानको चैत १ गते र रतुवामाई नगरपालिका-५ का २९ वर्षीय किसन टुडुको माघ २९ गते मृत्यु भएको इन्सेकको अभिलेखमा देखिन्छ ।
तीन महिनाको अवधिमा ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको आन्दोलनमा प्रहरीले सात जना महिला र ४२ जना पुरूष गरी ४९ जनालाई गिरफ्तार गरेको छ । सो अवधिमा राज्य पक्षबाट भएका कुटपिटका घटनामा चार जना पुरूष घाइते भएका छन् ।
तीन महिनाको अवधिमा राज्यपक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५९ जना र अन्य पक्षबाट भएका मानव अधिकारविरूद्धका घटनामा ३ सय १६ जना गरी कूल ३ सय ७५ जना पीडित भएका छन् ।
अन्य पक्षबाट भएका घटनामा घाइते पुरूष ३०, कुटपिट महिला दुई र पुरूष सात गरी नौ, अमानवीय व्यवहार घटनामा दुई जना पुरूष, हत्याका घटना दुई जना महिला र दुई जना पुरूष गरी चार, अपहरण घटनामा एक जना महिला, धम्कीका घटनामा एक जना पुरूष, बाल अधिकारविरूद्धका घटनामा ४१ जना र महिला अधिकारविरूद्धका घटनामा २ सय २८ गरी कुल ३ सय १६ जना पीडित भएका छन् ।
इन्सेक अभिलेखका आधारमा तीन महिनाको अवधिमा २९ जना बालिका बलात्कार र १२ जना बालिका यौन दुर्व्यवहारका घटनामा पीडित भएका छन् ।
महिला अधिकारविरूद्धका घटनामा बलात्कार २६, बलात्कार प्रयास एक, यौन दुर्व्यवहार एक, परिवारजनबाट हत्या दुई, यौनजन्य साइवर अपराध एक र घरेलु हिंसामा १ सय ९७ गरी २ सय २८ जना महिला पीडित भएका छन् ।