जिल्लामा रेबिजविरुद्धको खोप अभावहुँदा स्थानीय बिरामीहरु मारमा परेका छन् । इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लामा रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएपछि जनावरले टोकेका बिरामीहरू उपचार नपाएर समस्यामा परेका छन् । जिल्ला अस्पताल, बाजुरा लगायतका अन्य स्वास्थ्य केन्द्रहरूमा पनि उक्त खोप उपलब्ध नभएकोले बिरामीहरुलाई समस्या भएको अस्पतालका प्रमुख डाक्टर सुनिलकुमार शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार जङ्गली तथा घरपालुवा जनावरले टोकेपछि दिइने आवश्यक खोप ’ए.आर.भी’ हाल जिल्ला अस्पतालमा उपलब्ध छैन् । यो खोप सुदूरपश्चिम प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीबाट आउने हो । तर, हालसम्म प्राप्त नभएकाले अर्को सूचना नआएसम्म सेवा दिन नसकिने स्थिति छ ।
रेबिज एक घातक रोग हो । जसको उपचारमा ढिलाइ भए बिरामीको ज्यान समेत जान सक्ने जोखिम हुन्छ । त्यसैले जनावरले टोकेको अवस्थामा तुरुन्त खोप लगाउनु अत्यावश्यक हुन्छ । तर, हाल खोप अभाव भएपछि बिरामीहरू अन्यत्रबाट भ्याक्सिन किन्न बाध्य भएका गौमुल गाउँपालिका–६ का स्थानीय रमित विकले बताउनु भयो ।
डाक्टर शाहका अनुसार जिल्ला अस्पताल बाजुरामा हाल खोप छैन् । तर, बिरामीले बाहिरबाट भ्याक्सिन ल्याएमा हामी अस्पतालमा लगाइदिन्छौंँ । उहाँले भन्नुभयोे, “प्रदेश आपूर्ति केन्द्रबाट खोप आउनासाथ हामी फेरि सेवा सुचारु गर्नेछौंँ।”
बाजुरा जस्तो दुर्गम जिल्लामा स्वास्थ्य सेवाको पहुँच पहिले नै सीमित छ। यस्तोमा आवश्यक खोपको अभावले थप समस्या निम्त्याएको छ । जिल्ला अस्पतालले सरकारसँग यथाशीघ्र खोपको व्यवस्था गर्न माग गरेको डाक्टर शाहले बताउनु भयो ।
खोप अभावको कारण आपूर्ति व्यवस्थापन केन्द्रबाट नआएको बताइएको भए पनि यसमा सरकारी समन्वय र प्राथमिकतामाथि पनि प्रश्न उठेका र नियमित रूपमा लाग्ने खोप नै नपुगेपछि स्वास्थ्य प्रणालीको समग्र कार्यक्षमतामा पनि शङ्का उत्पन्न भएको नागरिक समाजका अगुवा लक्ष्मीराज पाध्याले बताउनु भयो ।
इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्ला अस्पताल, दार्चुलामा रेबिजविरुद्धको (एआरभी) खोप अभाव हुँदा बिरामी समस्यामा परेका छन् । कुकुर, बिरालो, मुसा लगायतका जनावरले टोकेलगत्तै लगाइने रेबिज रोगविरुद्धको खोप अभाव भएको हो ।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी रित्तो हात घर फर्कन बाध्य भएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताउनु भयो । खोपको अभाव भएपछि ०८२ वैशाख २२ गते दुई जना र वैशाख २३ गते एक जना बिरामी फर्किएको उहाँले बताउनु भयो ।
जिल्ला अस्पताल, दार्चुलाले वैशाख २२ गते सूचना जारी गरी रेबिज रोगविरुद्ध लगाइने खोपको अभाव भएको जनाएको छ । अस्पतालले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीबाट प्राप्त नभएको तथा अर्को व्यवस्था नभएसम्मका लागि सेवाग्राहीलाई (एआरभी) खोप उपलब्ध गराउन नसकिने जिल्ला अस्पताल, दार्चुलाका डाक्टर सञ्जिव श्रेष्ठले बताउनु भयो । बिरामीले अन्यत्रबाट खरिद गरेर ल्याएमा खोप लगाइदिने जिल्ला अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्ला अस्पताल, दार्चुलाबाट यो महिनामा ३६ जना सेवाग्राहीले रेबिज रोगविरुद्धको खोप लिइरहेकोमा अहिले अभाव हुँदा उहाँहरू समस्या परेका छन् । किनेरै लगाउन समेत उक्त खोप जिल्लामा उपलब्ध छैन् । भारतको धार्चुलाबाट किनेर ल्याउँदा ५ सयदेखि ७ सय रुपियाँ मूल्य पर्ने गर्छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलालीका कोल्डचेन असिस्टेन्ट ट्विङ्कल कुँवरले खोप आपुर्ति हुन अझै दुई हप्ता लाग्ने बताउनु भयो ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट आपूर्ति कम भएका कारण प्रदेश आपूर्ति केन्द्रमा समेत खोप अभाव रहेको उहाँले बताउनु भयो । “माग गरे अनुसारको खोप विभागबाट आूुर्ति नहुँदा बेला–बेला खोपको अभाव हुन्छ, कोल्डचेन असिस्टेन्ट कुँवरले भन्नुभयो ।”
जिल्ला अस्पताल, दार्चुलाबाट गत चैत महिनामा १५ जना महिला र ३३ जना पुरुष गरी ४८ जनाले रेबिज रोगविरुद्धको खोप लगाएका थिए । यो खोप एक जनाले तीन डोज लगाउनु पर्ने हुन्छ ।