अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अगुवाइमा जिल्ला कारागार शाखा मुस्ताङको अनुगमन गरिएको छ ।
घरपझोङ गाउँपालिकामा रहेको जिल्ला कारागार शाखाको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, डिएसपी छिरिङ किप्पा लामा, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल लगायतको टोलीले अनुगमन गरेको हो ।
२५ जना कैदी बन्दीको क्षमता रहेको मुस्ताङ कारागारमा हाल नौ जना कैदी सहित १२ जना रहेको जिल्ला कारागार मुस्ताङका निमित्त जेलर लालबाबु सहनीले जानकारी दिनुभयो ।
कारागारको पर्खाल लगायतको सुरक्षा नहुदा सुत्ने बस्ने कोठादेखि शौचालय जाने भन्दा बाहेक अन्य कुनै पनि बाहिरी दृष्य समेत हेर्न नपाएको कैदी बन्दीले गुनासो गरेका थिए । बलात्कार र हत्या अभियोगका कैदी बन्दी अधिक रहेको कारागारमा हाल सिलाइकटाइ तालिम सञ्चालन भइरहेको छ । कारागारको अवस्था सुधारका लागि सम्बन्धित निकायहरुमा पहलकदमी भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको भनाइ थियो ।
कारागार सुरक्षामा रहेका सुरक्षाकर्मीको संख्यात्मक अवस्थाका आधारमा कारागार भवन बाहिर ल्याएर कैदीबन्दीलाई हिँडडुलका लागि पनि अवस्था अनुसार व्यवस्था गर्ने गरेको डिएसपी छिरिङ किप्पा लामाले बताउनु भयो ।

