INSEC Online

📅 २०८३ जेष्ठ २१

परिचय खुलाउने अन्य कागजातबाट पनि मतदान गर्न पाउने व्यवस्था

निर्वाचन आयोगले मङ्सिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

आयोगले गरेको व्यवस्था अनुसार मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदान गर्न पाउने छन् ।

मतदाताले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र पाएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा र मतदाता नामावलीमा नाम थप भई यही मङ्सिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र पाएका मतदाताले सोही मतदाता परिचयपत्रबाट मतदान गर्न पाउने आयोगले जनाएको छ ।

अन्य

भिडियो