INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमताभन्दा बढी कैदीबन्दी राख्दा स्वास्थ्यमा समस्या !

क्षमताभन्दा बढी कैदीबन्दी राख्दा कैदीबन्दीहरूको स्वास्थ्यमा समस्या देखिएको छ । ३ सय ५२ जनाको क्षमता रहेको जिल्ला कारागार कपिलवस्तुमा अहिले ४ सय ६९ जना कैदीबन्दीहरू रहेका छन् । जसमध्ये कैदी ३ सय १८ जना र थुनुवा १ सय ५१ जना छन् । जसमा विदेशी कैदीको सङ्ख्या एक जना र थुनुवा ११ जना रहेका छन् ।

यो कारागारमा सबैभनदा बढी लागु औषधका १ सय ३३ जना, बलात्कारका १ सय २२ जना, कर्तब्य ज्यानका ९० जना, सवारी ज्यानका ३७ जना, डाँका चोरीका १२ जना, चोरीका १८ जना, अपहरणका आठ जना, मानव बेचबिखन तथा ओसार पसार र जीउ मास्ने पाँच जना, ज्यान मार्ने उद्योगका आठ जना, ठगी ६ जना, बहुविवाहका ६ जना, सङ्गठित अपराधका चार जना, हात हतियार खरखजनाका दुई जना लगायतका रहेका छन् ।

गर्मीको समय बढ्दै गएपछि कारागारको ब्लक नं. २ मा खानेपानी समस्या देखिएको छ । गर्मी बढेसँगै पिउने पानीको धारामा आउन छाडेपछि समस्या भएको हो । पानी आउन छाडेपछि नुहाउन, लुगा धुन र पिउनलाई समेत समस्या भएकोले पानीको लागि काम सुरु गरिएको भुसालले बताउनु भयो । कारागारमा अहिले अधिकांश छालाका बिरामीहरू ४५ जना जना, दमको नियमित औषधी सेवन गर्ने एक जना, प्रेसर, सुगरका ३० जना, टिवीका दुई जना, नशा सम्बन्धी रोगको औषधि खाने १० जना, एचआइभी सङ्क्रमित तीन जना रहेका छन् ।

त्यस्तै रुघाखोकीका बिरामी २० जना, मुटुको नियमित औषधी सेवन गर्नेहरू १० जना, मानसिक रोगीहरू पाँच जना, हाडजोर्नी सम्बन्धी समस्या भएका ३७ जना, छारेरोग तीन जना लगायतका बिरामीहरू रहेको कारागारका अहेव मनिष ओझाले बताउनु भयो । जिल्ला कारागारमा अहिले १८ वर्षदेखि ७९ वर्ष उमेर समूहका व्यक्तिहरू रहेको र जसमध्ये ६५ वर्षमाथि उमेर समूहका १२ जना, ७० वर्षमाथि उमेर समूहका ८ जना र ७५ वर्ष माथि उमेर समूहका दुई जना ज्येष्ठ नागरिहरू रहेको जिल्ला कारागार कपिलवस्तुका नायव सुब्बा रेशमलाल भुसालले बताउनु भयो । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरू राख्दा सुत्न, बस्न, शौचालय जान, नुहाउन पालो कुर्नुपर्ने बाध्यता रहेको छ । अत्यधिक गर्मी र क्षमता भन्दा बढी कैदीबन्दी राख्दा कारागारमा छाला र छालाजन्य रोगको सङ्क्रमण बढेको छ ।

नासु भुसाल भन्नुहुन्छ – ‘ख वर्गको कारागारको क्षमता ३ सय ५२ जनाको हो । तर क्षमताभन्दा बढी राख्नु पर्दा यो गर्मीमा कस्तो अवस्था होला ? तपाई आफै अनुमान गर्नुस् ।’ साँघुरो ठाउँका कारण क्षमताभन्दा बढी सङ्ख्यामा राख्नुपर्दा स्वास्थ्यमा विभिन्न खालका समस्याहरू आएका छन् । कारागारमा कैदीबन्दीहरूले बाँसका बुढा बनाउने, भादगाउँले टोपी बुन्ने जस्ता सीपहरू सिकेर आर्थिक उपार्जन समेत गरेका छन् । कारागारमा रहेका कैदीबन्दीहरूले एउटा मुढाको मुल्य ३ सयदेखि १ हजार २ सयसम्ममा बिक्री हुने गरेको छ । अहिले कपिलवस्तु कारागारमा रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठान, दाङ लगायतका जिल्लाका कैदी तथा बन्दीहरू रहेका छन् । कारागारमा रहेका कैदीबन्दीहरूका लागि सरकारले दैनिक ८० रुपियाँ र ७ सय ग्राम चामल उपलब्ध गराउँदै आएको छ ।

अन्य

भिडियो