INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीको संक्षिप्त सूची प्रति द्वन्द्व पीडितको विमति

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी सिफारिस समितिले सार्वजनीक गरेको संक्षिप्त सूची (सर्ट लिस्ट) प्रति द्वन्द्व पीडितले विमति जनाएका छन् ।

द्वन्द्वपीडितको तर्फबाट विभिन्न सङ्घसंस्था र पीडित स्वयम्ले ०८२ वैशाख १८ गते एक सामूहिक विज्ञप्ति प्रकाशन गरी पदाधिकारी सिफारिस समितिले अपारदर्शी, देखावटी, राजनीतिक भागबन्डा र पहुँचका आधारमा पदाधिकारीको सर्ट लिस्ट सार्वजनिक गरेको जनाएका छन् ।

उक्त संयुक्त विज्ञप्तिमा सार्वजनिक गरिएको सूचीका व्यक्तिहरूबाट सङ्क्रमणकालीन न्यायको राष्ट्रिय कार्यभारलाई पार लगाउन नसक्ने र पीडितले न्याय पाउने वातावरण नभएको भन्दै सिफारिस समितिमाथि नै प्रश्न उठाइएको छ । साथै तत्काल नयाँ र स्वायत्त सिफारिस समिति बनाउनसमेत विज्ञप्तिमा माग गरिएको छ ।

। उनीहरूले पीडित समुदायलाई समेत समेटेर आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । पीडितले माग पूरा नगरे समानान्तर आयोग बनाउने चेतावनीसमेत दिएका छन् ।

द्वन्द्वपीडित समुदायले लिखित एवम् मौखिक रूपमा समितिलाई पटकपटक सुझाएको तथ्यको बेवास्ता गर्ने गरिएको र जसका लागि आयोग चाहिने हो, उनीहरूलाई नै बहिष्करण गरी पीडित समुदायसँग एकपटक पनि परामर्श नगरी नियन्त्रित र देखावटी प्रक्रियाबाट सार्वजनिक गरिएकोले संक्षिप्त सूची अस्वीकार्य रहने चेतावनी समेत द्वन्द्व पीडित समूदायको भनाइ रहेको छ ।

साथै पीडितहरूले समितिलाई सहयोग होस् भन्ने मनसायले विभिन्न द्वन्द्व पीडित सङ्घ संस्थाले दुवै आयोगका पदाधिकारीका लागि सिफारिस गरेका व्यक्तिहरूको नाम फिर्ता गरिएको जानकारी गराएका छन् ।

अन्य

भिडियो