नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले गंगादेव गाउँपालिका–१, ओत घरभइ हाल शान्तिनगर गाउँपालिका–५, कासीपुर दाङ बस्दै आएकी २७ वर्षीया सरिता बिकलाई गिरफ्तार गरेको छ ।
०८१ चैत २४ गते राति बिकले आफैले जन्माएकी छोरीलाई हत्या गरी बोरामा बेरेर घरदेखि झण्डै १ सय मिटर टाढाको चर्पीको सेफ्टी ट्याङकीमा फालेकी थिइन् । सेफ्टी ट्याङकीमा शिशुको शव देखिएपछि प्रहरीले वैशाख ७ गते शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल ल्याएको थियो । घटना अनुसन्धानका क्रममा प्रहरीले आरोपित महिलालाई वैशाख ११ गते गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम वैशाख ८ गते राप्ती प्रादेशिक अस्पतालमा भएपछि तुलसीपुर उपमहानगरपालिकाले शवको व्यवस्थापन गर्यो । आरोपित महिलालाई हिरासतमा राखेर अनुसन्धान थालिएको इन्स्पेक्टर रानाले बताउनु भयो ।