वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार खगराज भट्टलाई लक्षित गरी बम विष्फोट गराइएको समाचार इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टले पठाएका छन् ।
मङ्सिर १८ गते परशुराम नगरापालिकामा आयोजित चुनावी सभा कार्यक्रम सकेर जिल्ला सदरमुकाम फर्किने क्रममा आलिताल गाउँपालिका-८ बाख्खोली भन्ने ठाउँमा राति ८ः३० बजे विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बम विष्फोटबाट भट्ट चढेको म १ च २४१५ नम्बरको गाडीको अगाडिको भागमा क्षति पुगेको छ । बम कसले विष्फोट गराएको हो भन्ने नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विष्फोटपछि उम्मेदवार भट्टलाई प्रहरीले स्कटिङ गरी जिल्ला सदरमुकाम ल्याएको थियो ।
त्यसैगरी कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार कञ्चनपुर क्षेत्र नम्बर-३ नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभा सदस्य उमेदवार रमेश लेखकको वेदकोट नपा-८ स्थित घरमा मङ्सिर १८ गते राति बम विष्फोट भएको छ ।
मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूको समूहले करिब ८ बजे राति लेखकको घरमा बम विष्फोट गराएको बताइएको छ । विष्फोटबाट रूखमा सामन्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेठीले वताए ।
बम विष्फोट गराउने समूहको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।