INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशः तीन महिनाको अवधिमा २ सय ४ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा (सन् २०२५ जनवरीदेखि सन् २०२५ मार्चसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय ४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले सन् २०२५ जनवरीदेखि मार्चसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना समावेश गरी प्रकाशन गरेको मानव अधिकार स्थिति सूूचकमा सो तथ्याङ्क सार्वजनिक गरिएको छ ।

यस अवधिमा अन्यपक्षबाट १ सय ९५ जना महिला सहित २ सय ४ जना पीडित भएको मानव अधिकार स्थितिसूचकमा उल्लेख गरिएको छ ।

जसमध्ये अन्यपक्षबाट १ सय ६५ जना महिला पीडित भएकोमा घरेलु हिंसाबाट १ सय ४९ जना, बलात्कारबाट १० जना, बलात्कार प्रयासबाट दुई जना, बेचबिखन तथा ओसारपसारबाट एक जना र दाइजो जनित प्रथाबाट दुई जना महिला पीडित भएका र एक जना महिलाको परिवारजनबाट हत्या भएको मानव अधिकार स्थितिसूचकमा उल्लेख छ ।

यसैगरी अन्यपक्षबाट २६ जना बालिका पीडित भएकोमा बलात्कारबाट २० जना, यौन दुर्व्यवहारबाट चार जना र बाल विवाहबाट दुई जना गरी २६ जना बालिका पीडित भएका छन् । जातीय छुवाछुतबाट दुई जना महिला पीडित भएको उल्लेख छ ।

यस तीन महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घनका घटनाको विश्लेषण गर्दा राज्य पक्षबाट मानव अधिकार उल्लङ्घनका घटना नभएको पाइए पनि अन्यपक्षबाट ज्यादतीका घटनामा बृद्धि भएको पाइएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।

नागरिक तथा राजनीतिक अधिकारका क्षेत्रमा सुधार भए पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका क्षेत्रमा सुधार हुन सकेको र संविधानमा सुनिश्चित गरिएका मौलिक हकको समेत नागरिकहरुले उपभोग गर्न नसकेको अवस्था देखिएकोले राज्यले कार्यान्यन पक्षमा बढि जिम्मेवार र जवाफदेहि हुनु पर्ने उहाँले बताउनु भयो ।

अन्य

भिडियो