INSEC Online

📅 २०८३ जेष्ठ २१

आवश्यक जनशक्ति र पुर्वाधार नहुँदा पाल्पा अस्पतालको सेवा प्रवाहमा समस्या !

विस १९६९ मा स्थापित पाल्पा अस्पतालमा आवश्यक जनशक्ति र पुर्वाधार नहुँदा सेवाप्रवाहमा समस्या भएको छ ।

तत्कालीन अवस्थामा हैजा नियन्त्रणका लागि पृथ्वीचन्द्र अस्पतालको नामबाट स्थापित यो अस्पताल ०४२ सालमा पाल्पा अस्पतालको नामाकरण गरिएको थियो भने सोही समयमा नै दरबन्दी समेत कायम भएको थियो । अस्पताल आर्थिक वर्ष ०७७/७८ बाट ५० शैयाको अस्पतालको रूपमा रहेको छ । तर आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताउनु भयो । अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढ्दै गए पनि सिमित जनशक्तिले साँघुरो पूर्वाधारबाट सेवा दिन कठिन हुँदै गएको उहाँले बताउनु भयो ।

यो अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागु भएको छ । स्वास्थ्य बिमा गरेका बिरामीहरूले बिमा सुविधा पाउने भएपछि यहाँ बिरामीको सङ्ख्या थप बढेको छ । हाल दैनिक ५ सय जनासम्म बिरामीले सेवा लिँदै आएको अध्यक्ष आत्रेयले बताउनु भयो ।

पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामेश्वर देवकोटाले वर्षौँ पुरानो भवन साथै साँघुरो कक्षाकोठा, विशेषज्ञ चिकित्सकको अभाव, कर्मचारी आवासको समस्या, शल्यक्रिया कक्षसहितको अन्य विशिष्टीकृत सेवाको अभाव रहेको बताउनु भयो ।

अस्पतालमा हाल ११ औँ तहको कार्यालय प्रमुखसहित १२ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर विशेषज्ञ चिकित्सक दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन । ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको छ । तर अधिकांश मेडिकल अधिकृत छात्रवृत्ति करारका छन् । ६४ जना स्वीकृत दरबन्दी रहेको छ । अहिले स्थायी पदपूर्ति २७ जना रहेको छ । दरबन्दी, करार, कार्यक्रम, छात्रवृत्ति तथा समिति करार गरी ८४ जना कर्मचारी कार्यरत रहेको देवकोटाले बताउनु भयो । अस्पतालले अघिल्लो आर्थिक वर्षमा ९८ हजार ७ सय २७ जना र चालु आर्थिक वर्षको माघ महिनासम्ममा ५३ हजार ८ सय ५० बिरामीले सेवा लिएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो