बालसुधार गृह भैरहवामा क्षमताभन्दा बढी बालबन्दीहरू राख्दा बालकहरूमा विभिन्न खालका समस्या भएको छ । भैरहवास्थित बालसुधार गृहको क्षमता ४० जनाको भनिए पनि अहिले १ सय जना बालबन्दीहरू रहेका छन् । क्षमताभन्दा बढी बस्नुपर्दा सुत्न, नुहाउन र शौचालय जान पालो कुर्नु परेको छ ।
बालसुधार गृहमा १ सय जना बालकहरू मध्ये ६० जना कैदी र ४० जना (बन्दी) थुनुवाहरू रहेका छन् । त्यस्तै विदेशी तीन जना रहेका छन् भने सबैभन्दा बढी बलात्कारका ६८ जना, कर्तब्य ज्यानका आठ जना, बलात्कार प्रयासका एक जना, लागुऔषध सात जना, सवारी ज्यानका आठ जना, नकवजनी चोरी पाँच जना, यौन दुर्व्यवहार दुई जना लगायतका बालकैदी र थुनुवाहरू रहेको कारागार प्रमुख पदमसिंह महराले बताउनु भयो ।
प्रमुख महराले अहिलेसम्म छालाजन्य समस्या कम भएको भए पनि गर्मी बढ्दै जाँदा छालाको सङ्क्रमण, दाद, लुतो, नशा जस्ता समस्याहरूले दुःख दिएको र गर्मीको समयमा बस्न, सुत्नलाई पालो कुरेर सुत्नुपर्ने बाध्यता रहेको बताउनु भयो । ०७५ भदौ १ गतेबाट सञ्चालन भएको बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरू राख्नुपर्दा, हिँड्डुल गर्न नपाएपछि नशाको समस्या आएको, घाम देख्न नपाउँदा छालासम्बन्धी सरुवा रोगको प्रकोप जस्ता समस्या हुने गरेको महराले बताउनु भयो ।
बालसुधार गृह मापदण्ड अनुसार सञ्चालन हुन नसकेको र सात जनाको दरबन्दी रहेको बालसुधार गृहमा अहिले एक प्रमुख एक एकाउण्टेन्ट र एक जना कार्यालय सहयोगी कर्मचारी कार्यरत रहेका छन् । लामोसमयसम्म यो बालसुधार गृहमा एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको थियो ।
बालसुधार गृहका प्रमुख कल्पना अर्याल सरुवा भएर जिल्ला निर्वाचन कार्यालयमा गएपछि सुधार गृह कार्यालय प्रमुख विहीन भएको हो । बालसुधार गृहमा रहेका बालकहरूले राज्यबाट पाउनु पर्ने शिक्षाको अधिकार, कानुन व्यवसायी राख्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, मनोरञ्जनको अधिकार, पोषणयुक्त खाना खान पाउने अधिकार, स्वच्छ वातावरणको अधिकार, न्यायाधीश समक्ष बयान दिन सक्ने लगायतका अधिकारबाट वञ्चित रहेका छन् ।
एक सय जना बालकहरू रहेको बालसुधार गृहमा अहिलेसम्म एक जना पनि शिक्षकको व्यवस्थापन हुन नसक्दा बालकहरू शिक्षाबाट वञ्चित भएका छन् भने स्वास्थ्यकर्मी पनि छैनन् । जसले गर्दा सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने अवस्था बालकहरूको रहेको छ । केही समय अगाडिसम्म रुपन्देहीका विभिन्न पालिकाहरूले आलोपालो मासिक रूपमा खाजाको व्यवस्थापन गरेको भए पनि गत माघ २० गतेबाट खाजाको व्यवस्थापन नभएको बालसुधार गृहका प्रमुख महराले बताउनु भयो । बालसुधार गृहमा अहिले रुपन्देही, कपिलवस्तु लगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरू र गण्डकी प्रदेश नवलपुरका बालकहरू समेत रहेका छन् । २०७५ भदौ १ गतेबाट सुरु भएको बालसुधार गृहमा हालसम्म ४ सय ६५ जनाले सेवा लिइसकेको बालसुधार गृह रुपन्देहीको तथ्याङ्क रहेको छ ।
हाल भैरहवास्थित बालसुधार गृहमा १५ वर्षदेखि २२ वर्ष उमेर समूहका कानुनको विवादमा परेका बालकहरू रहेका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बालसुधार गृहका विषयमा आफूहरू संवेदनशील भएर लागेको बताउँदै आफूले बालसुधार गृहको अवस्थालाई नजिकबाट अनुगमन गरी स्थानीय सरकारका प्रतिनिधिहरू, स्थानीय सरोकारवालाहरूसँग समन्वय गरेर उनीहरूको आधारभूत पोषणयुक्त खाना, सहज रूपमा बस्ने, हिँड्डुल र कसरत गर्न सक्ने र एक जना भए पनि शिक्षकको व्यवस्थाका लागि पहल गरिरहेको बताउनु भयो ।