थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिमकी पाँच वर्षीया बालिका पवित्रा तामाङ बाबुको खुकुरी प्रहारबाट गम्भीर घाइते हुनु भएको छ ।
घरायसी विवादका क्रममा ३२ वर्षीय बाबु चमकुमार तामाङले ०८२ वैशाख ४ गते छोरी पवित्रालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी द्वारिकाप्रसाद घिमिरेले बताउनु भयो ।
टाउकोमा चोट लागेकी बालिकाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि थुलुङ दूधकोशी गाउँपालिकाले हलिकोप्टरमार्फत काठमाण्डौँ पठाएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले बताउनु भयो ।
घटनाका आरोपित चमकुमार फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालको संविधानले धारा ३९ मा बालबालिकाको हकलाई व्याख्या एमव् व्यवस्था गरेको छ । सोही धाराको उपधारामा ७ मा कुनैपनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किमिसको यातना दिन पाइने छैन भनी उल्लेख गरिएको छ ।