INSEC Online

📅 २०८३ जेष्ठ २१

विभिन्न ठाउँमा बम विष्फोटका घटना, घटनाको भत्र्सना

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी मङ्सिर १६ गते साँझ पाल्पामा बम विष्फोट भएको राससले जनाएको छ ।

तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जङ्गलमा बम विष्फोट हुँदा गाडी चालक घाइते भएका छन् । घर्तीसहित माओवादी कार्यकर्ताहरू भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका एसपी डिल्लीराज पन्तले बताए ।

एम्बुसमा परी गाडी चालक तानसेन नगरपालिका-६ का भरत श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको उपचार लुम्बिनी मेडिकल कलेज प्रभासमा भएको नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए । बम विष्फोट हुँदा ३४२५ नम्बरको लु१ज जिपमा क्षति पुगेको जनाइएको छ । घर्ती पाल्पा निर्वाचन क्षेत्र नं २ प्रदेश क्षेत्र (ख) का वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

त्यसैगरी सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गरी जनकपुरमा बम प्रहार भएको राससले जनाएको छ ।

धनुषाको फूलगामाबाट चुनावी अभियान सकेर जनकपुर फर्कंदै गरेका यादव चढेको गाडीलाई लक्षित गरी १० मिटर पर सकेट बम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको चुनावी अभियानबाट फर्कने क्रममा जनकपुर उपमहानगरपालिका- १२ स्थित नोचा पोखरी नजिकै बम विष्फोट भएको हो । विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नेकपा (एमाले) ले पार्टीका वरिष्ठ नेता एवम् प्रतिनिधि सभा सदस्य इलाम-१ का उम्मेदवार झलनाथ खनाललाई लक्षित गरी बम प्रहार भएकामा चिन्ता व्यक्त गरेको राससले जनाएको छ ।

निर्वाचन प्रचारका क्रममा रहेका नेता खनाललाई इलाम सूर्योदय नगरपालिका-३ तीनखुट्टेमा आक्रमण गरिएकामा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आज विज्ञप्ति जारी गरी निन्दा गरेको हो ।

विभिन्न नेता र उम्मेदवारमाथि हमलाको शृंखला बढ्नुले सुरक्षामा प्रश्न उत्पन्न भएको जनाउँदै कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा सुरक्षा प्रत्याभूतिको माग गरिएको छ ।

अन्य

भिडियो