१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनकुटा नगरपालिका-५ देवानटारका ३९ वर्षीय दिनेश कार्कीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको ०८१ चैत २६ गतेको इजलासले दोषी ठहर गर्दै कैद सजायसँगै १ लाख रुपियाँ जरिबाना र २ सय रुपियाँ पीडित राहतकोषमा भराउन आदेश भएको अदालतका श्रेस्तेदार उज्वल न्यौपाले बताउनु भयो ।
पीडितलाई ०७७ असार १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिनेश कार्कीविरुद्ध ०७७ असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका कार्कीलाई प्रहरीले ०७७ साउन १९ गते धनकुटा नगरपालिका ९ मुलघाटबाट गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ असार १९ गते गरिएको थियो ।