INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालमा चार महिनादेखि अल्ट्रासाउन्ड नहुँदा गर्भवतीलाई समस्या !

अस्पतालमा चार महिनादेखि अल्ट्रासाउन्ड नहुँदा गर्भवती महिलाहरूलाई समस्या भएको छ । ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूले चार महिनादेखि आफ्नो ग्रामीण अल्ट्रासाउन्ड गर्न नपाएको गुनासो गरेका छन् । प्रत्येक दुई महिनामा गर्नु पर्ने सो कार्य गत पुस महिनादेखि हुन नपाएको गर्भवती महिलाहरूले गुनासो गरेका हुन् । महिला धनशोभा बोहराले चार महिनादेखि आफ्नो गर्भको अल्ट्रासाउन्ड गर्ने कार्य गर्न नपाएको गुनासो गर्नुभयो । आफ्नो गर्भमा रहेको शिशुको अवस्था कस्तो छ भन्ने कुरा जानकारी पाउनका लागि यो कार्य पहिलेदेखि हुँदै आएकोमा यस पटक गर्न नपाएको उहाँले बताउनु भयो ।

सिमकोट गाउँपालिकाले प्रत्येक दुई महिनामा ग्रामीण अल्ट्रासाउन्ड गर्ने नीति ल्याएको भए पनि यो पटक लामो समय बितिसक्दा समेत सो कार्य हुन नसकेको बोहराले गुनासो गर्नुभयो । सुरुवात गरेको कामलाई निरन्तरता दिन नसक्नु सरोकारवाला पक्षको कमजोरी भएको बताउँदै रोकिएको सो काम तत्काल सुरु गर्न गाउँपालिका कार्यालयलाई पटक पटक अनुरोध गर्दा समेत सुनुवाई नभएको बोहराको भनाइ छ ।

उहाँले आफू जस्तै ठेहे स्वास्थ्य चौकीमा आफ्नो गर्भको अल्ट्रासाउन्ड गर्ने बिस २० जना गर्भवती रहेको बताउनु भयो । सिमकोट गाउँपालिका-३, बरगाउँ स्वास्थ्य चौकीमा दुई जना गर्भवती रहेको र उहाँहरूको पनि ग्रामीण अल्ट्रासाउन्ड गर्ने कार्य हुन नसेकको जानकारी दनिुभयो । वडा नम्बर ७ को डाँडाफयामा पनि १८ जना गर्भवतीको अल्ट्रासाउन्ड गर्ने कार्य रोकिएको छ ।

अल्ट्रासाउन्ड गर्न प्रत्येक पटक जिल्लाबाट आउनु पर्ने बाध्यताबाट छुटकारा दिनका लागि अब स्वास्थ्य चौकीका नर्सिङ स्टाफलाई तालिम दिएर दक्ष बनाइयो काम सुचारु गर्नुपर्ने डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष बोहराले बताउनु भयो । त्यस्तै वडा नम्बर ८ को स्याँडा स्वास्थ्य चौकीका प्रमुख लवी रावतले पनि यो काम नभएको बताउँदै गर्भवती महिलाबाट गुनासो आइरहेको बताउनु भयो । उक्त स्वास्थ्य चौकी अन्तर्गत ११ जना गर्भवती महिलाहरू रहेका छन् ।

गाउँगाउँका स्वास्थ्य चौकीमा तालिम प्राप्त स्वास्थ्यकर्मी पुगेर गरिने अल्ट्रासाउन्ड कार्य कर्मचारीको अभावको कारण रोकिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक नर भण्डारीले बताउनु भयो । उहाँले जनशक्तिको व्यवस्था गर्ने कार्य भई रहेको र अब तत्काल रोकिएको अल्ट्रासाउन्ड पुन सुचारु गरिने जानकारी गर्नुभयो ।

अन्य

भिडियो