राजावादी आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्शेर जबरा, राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल अन्य नेता सन्तोष तामाङ, जेफर लिम्बु गरी पाँच जनालाई ०८१ चैत १५ गते गिरफ्तार गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिआइजी दिनेश आचार्यले जानकारी दिनु भयो ।
आन्दोलनका नाममा अराजक गतिविधि गरेका उनीहरुलाई केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो । आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको एसपी बोहराको भनाइ छ । गिरफ्तार पर्ने सूचना पाए लगत्तै प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई बागबजारस्थित आफ्नै ल फर्मबाट प्रहरीले गिरफ्तार गरेको हो । राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।
त्यसैगरी तीनकुनेमा चैत १५ गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएका १ सय ५ जनालाई चैत १५ र १६ गते बिहानसम्म गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताउनु भयो।
घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए । आन्दोलनकारीले बन्दुक खोसेको फोटो र भिडियो खिच्नेको भन्दै एक जना पत्रकारमाथि समेत आक्रमण भएको थियो । सोही घटनामा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।
यसैगरी नौ ओटा सरकारी सवारी साधन, ६ ओटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ ओटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
प्रदर्शनकारीहरुले विभिन्न स्थानमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी समेत गरेका थिए । राजावादीहरु अराजक बनेपछि काठमाडौँका तीनकुने आसपासको क्षेत्रमा चैत १६ गते बिहान सात बजेसम्म कर्फ्यू जारी गरिएको थियो ।