INSEC Online

📅 २०८३ जेष्ठ २१

आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउ: आयोग

समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले ०८१ चैत १५ गते उपत्यकामा गरेको प्रदर्शन र आमसभाको चारवटा उच्चस्तरीय टोलीहरु बनाई अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको ०८१ चैत १५ गते जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रदर्शनकारीहरु तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँ वानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भएको पाइएको आयोगले जनाएको छ ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको, व्यक्तिको घरमा ढुङ्गा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको विज्ञप्तीमा उल्लेख छ ।

झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुङ्गा प्रहार गरेको आयोगले जनाएको छ ।

अनुगमनका क्रममा हिँडेको राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीहरुबाट कोटेश्वरमा सांघातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएको विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाइ फायर गरेको तथा व्यक्तिको निजी आवास समेत प्रयोग गरी अश्रुग्याँस प्रहार गरेको देखिएको आयोगले जनाएको छ ।

यसैगरी समाजवादी मोर्चाले भृकुटीमण्डपमा सडकमा मञ्च बनाउँदा आवागमनमा बाधा परेको पाइएको छ ।

शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भए तापनि आफ्नो अधिकारकोे प्रयोग गर्दा अरुको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जान्छ ।

कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन ।

अतः यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न नेपाल सरकारलाई आग्रह गरेको आयोगका सहसचिव एवम् प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै, आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरुलाई शान्तिपूर्ण बनाउन, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नजाने असरप्रति संवेदनशील हुन आन्दोलनरत पक्षलाई पुनः आग्रह गरिएको आयोगले जनाएको छ ।

अन्य

भिडियो