बडीकेदार गाउँपालिकाको सदरमुकाम रहेको वडा नम्बर २ खड्यौलीमा खानेपानीको अभाव भएको छ । खानेपानीको अभाव हुँदा २० किलोमिटर टाँढा पर्ने बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरमास्थित ठुलीगाड नदीबाट ट्याङ्करले पानी ओसारेर दैनिकी चलाउनु परेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ ।
पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरूले भौगोलिक रूपमा बिकट खड्यौलीलाई बडीकेदार गाउँपालिकाको सदरमुकाम घोषणा गरेपछि भौतिक संरचना निमार्ण तथा खानेपानीको आपूर्तिका लागि गाउँपालिकाले ०७५ सालमा डिप बोरिङको योजना निमार्ण गरी सञ्चालनमा ल्याएको थियो । तर, उक्त योजना निमार्ण भई सञ्चालनमा आएको पाँच वर्ष पनि सुचारु हुन सकेन् । समस्या समाधानका लागि गाउँपालिकाले पटकपटक गरी ८० लाख रुपियाँ मर्मत खर्च गरे पनि समस्या समाधान हुन सकेको छैन् । हाल डिप बोरिङको पानी पूर्ण रूपमा बन्द भएपछि खानेपानीको अभाव चुलिएको हो ।
पानी अभावका कारण दैनिक व्यापार व्यवसाय तथा होटेल सञ्चालनमा प्रत्यक्ष असर परेको स्थानीय होटेल व्यवसायी रामबहादुर बिठाडीले गुनासो गर्नु भयो । होटेलमा सेवाग्रही आउने बित्तिकै पानी अभावका कारण खाने, बस्ने सुविधा छैन भन्नु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

डिप बोरिङको पानी बन्द हुँदा गाउँपालिका र आवास क्षेत्रमा खानेपानीको अभाव भई दैनिकी चलाउन समस्या भएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताउनु भयो ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको डिप बोरिङ सुकेपछि खानेपानीको हाहाकार भएकाले हाल टेक्टर र टेङ्करमा पानी ल्याएर स्थानीयलाई वितरण गरिने गरिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताउनु भयो । नजिक छेउछाउमा पानीको मुहान नभएकोले गाउँपालिका लगायत नजिकका बस्तीहरूमा पानी आपूर्ति गर्न घेरै समस्या भएकोले समस्या समाधानका लागि संघीय सरकारसँग पहल भइरहेको अध्यक्ष साउदको भनाइ छ ।
बडीकेदार गाउँपालिका र आसपासका क्षेत्रमा खानेपानीको दिगो व्यवस्थापन गर्न गाउँपालिकाबाट करिब ३० किलोमिटर टाँढा रहको बडीकेदार धाम क्षेत्र धजालाउने पानी मुहानको लागि डिपीआर सम्पन्न गरी आवश्यक कागजात सहित संघीय खानेपानी कार्यालयमा पेस गरेको गाउँपालिकाले जनाएको छ ।