कर्णाली प्रदेशमा अझै ७.१ प्रतिशत बालबालिकाहरू विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ । शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा हुनुपर्ने सरकारको नीति भए पनि अझै बालबालिका विद्यालयको पहुँच बाहिर रहेको पाइएको हो ।
कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार जुम्ला र डोल्पामा सबैभन्दा बढी १३.६ प्रतिशत बालबालिका अझै विद्यालय जान सकेका छैनन् । सुर्खेतमा भने यो सङ्ख्या ६.१ प्रतिशत छ । हुम्लामा ११.६, मुगुमा ९.३, दैलेखमा ६.९, सल्यानमा ६.८, जाजरकोटमा ६.७, कालिकोट र रुकुम पश्चिममा ६.२ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् ।
कर्णालीको मुख्य समस्या नै जीविकोपार्जनको बाध्यता हो । अधिकांश अभिभावक कालापहाड (भारत) मजदुरीमा जान बाध्य छन् । बालबालिका पनि बुबाआमासँगै मजदुरी जानुपर्ने बाध्यता छ । जसका कारण उनीहरूको पढाइ छुटिरहेको पाइएको छ ।
सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना, तथ्याङ्क तथा अनुसन्धान शाखाका अधिकृत बलवीर सुनारका अनुसार बसाइँसराइ, चेतनास्तरको कमी, अभिभावकलाई शिक्षाबारे थोरै ज्ञान, दीर्घरोगी बालबालिका र बुबाआमा विहीन अवस्थाले बालबालिकाले पढाइ छोड्नु परेको छ । ‘अभिभावक कै साथ नभएका बालबालिकाहरू विद्यालय जान सक्दैनन् । त्यसमाथि अपाङ्गता भएका बालबालिकालाई त अझै विद्यालयको ढोका खुलेको छैन’ – अधिकृत सुनारले भन्नुभयो ।