INSEC Online

📅 २०८३ जेष्ठ २१

इस्माका आगलागी पीडितद्वारा गाउँपालिकामा धर्ना

इस्मा गाउँपालिका–४ का आगलागी पीडितहरूले ०८१ चैत १४ गते गाउँपालिकामा धर्ना दिएका छन् । इस्मामा आगलागीले बस्तीनै सखाप पारेका वर्षदिन पुग्न थाले । उनीहरूले गत वर्ष पहिले नै राम्रो ओतको आश गरेका थिए । तर, सरकारी झन्झटिलो प्रक्रियाले काम नै भएन । वर्षात् सकिएपछि सरकारले लाभग्राही कायम गरेर घर निर्माणको सम्झौता गर्‍यो । स्थानीय सरकारले दिएको एक लाखबाट केही काम पनि भएको छ । पछि केन्द्रीय र प्रदेशको बजेट आएन । जसले पीडित परिवार झन् पीडामा परेका छन् । फेरि आगलागी र वर्षातको समय भए पनि घर अलपत्र परेपछि आन्दोलनको योजनामा आगलागी पीडित छन् ।

Photo28032025Gulmi3

सम्झौता अनुसारको रकम भुक्तानीको माग गर्दै प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाललाई ज्ञापनपत्र पेश गरेको आगलागी पीडित बलबहादुर दर्जीले बताउनु भयो । उहाँको आगलागीले गत वर्ष घरगोठसहित शरीरका कपडा बाहेक केही जोगिएन् । लामो समय छिमेक र पालमा जीवन कटाउनु भयो । वर्षदिन हुँदा पनि कतैबाट आगलागी पीडितको पक्षका बोल्न कोही नभएकाले पालिकामा धर्ना बसेको बताउनु भयो । गत वर्ष इस्मा गाउँपालिका–२ की बसुन्धार कुवँरको घर गोठ पुर्णरुपमा जलेको थियो । सम्पतिको नाममा रुप्पे नगद र केही पनि अन्न जोगिएन । आँखै अगाडि घरगोठसँगै आठ ओटा बोका, पाँच ओटा बाख्रा र दुई ओटा भैँसी जलेर खरानी बनेको पीडा अझै सेलाएको छैन उहाँलाई । सरकारले घर निर्माणको सम्झौता गरेर पनि रकम नदिएपछि समस्या थपिएको छ । निर्माण व्यावसायीले घर निर्माण गरेर बुझाए पनि सरकारले पैसा नदिएकाले मानसिक तनाब खेप्न परेको कुवँरले बताउनु भयो ।

Photo28032025Gulmi2

गाउँपालिकाले दिएको केही पैसा अनुदानले पीडितले घडेरी खनेर घर सुरु गरे । घर निर्माण भएका पनि सात/आठ महिना भयो । तर, सरकारले सम्झौता अनुसारको रकम भुक्तानी दिएको छैन । आफूले घर निर्माण गरेको २०/२२ लाख रकम पाउनुपर्ने नआएपछि बाँकी परिवारको घरमा छाना राख्न नसकिएको निर्माण व्यावसायी केशव घर्तिले बताउनुभयो । स्थानीय सरकारले पहिलो किस्ताको रकम दिए पनि सङ्घ र प्रदेशबाट पैसा नआएपछि धेरै समस्या देखिएको छ ।

जिल्ला स्तरीय बिपद् व्यावस्थापन समितिबाट पनि पटक–पटक ताकेता गर्ने र केन्द्र तथा प्रदेशमा ध्यानाकर्षण गराउँदा पनि रकम भुक्तानी नभए पनि आफूहरू पीडितको अगाडि अनुहार देखाउन सक्ने अवस्थामा नरहेको इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतले बताउनु भयो । इस्मामा मात्रै ०८१ वैशाख ८ गतेको आगोलागीबाट ४९ घर गोठ जलेर नष्ट भएका थिए । सबै आगलागी पीडितले घर गोठ निर्माण गरेका छन् । तर, सबैलाई एउटै पिरलो छ । घर निर्माणको लागि पाउनु पर्ने पैसा सरकारले दिएनन् ।

आगलागी पीडित परिवारले आवास निर्माणका लागि पाँच लाख पाउने व्यवस्था छ । त्यसमध्ये इस्मा गाउँपालिकाले एक लाख र चार लाख प्रदेश तथा सङ्घ सरकारले उपलब्ध गराउनुपर्ने हो । प्रदेशले केही रकम पठाएकाले सङ्घ सरकारसँग साढे १२ करोड रकम माग गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनु भयो ।

Photo28032025Gulmi

Photo28032025Gulmi1

अन्य

भिडियो