पूर्वीचौकी गाउँपालिका–५ काँडामाण्डाैँस्थित नवप्रभात आधारभूत विद्यालयका विद्यार्थी कक्षाकोठा अभावका कारण खुला चौरमा पढ्न बाध्य भएका छन् ।
०४५ सालमा स्थापना भएको विद्यालयमा आवश्यक भवन निर्माण हुन नसक्दा वर्षौंदेखि विद्यार्थीहरू खुला चौरमा पठनपाठन गर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले बताउनु भयो ।
हल विद्यालयमा ९२ जना विद्यार्थी अध्ययनरत भए पनि दुई ओटा मात्र्रै कक्षाकोठा छन् । तीमध्ये एक ओटा कोठा विद्यालय प्रशासनका लागि प्रयोग गरिएको छ भने अर्को एक ओटा कोठा मात्रै कक्षा सञ्चालनका लागि प्रयोग गरिएको छ । थप कक्षा कोठा अभाव भएकाले खुला चौरमै पढाउन ुपर्ने बाध्यता रहेको प्रधानध्यापक जोशीको भनाइ छ ।

“२०७९ कात्तिक २३ गते गएको भूकम्पले विद्यालय भवनमा क्षति पु¥याएको छ । दुई ओटा टिनले छाएका कोठा जीर्ण अवस्थामा छन्,” चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेस सरकारको सहयोगमा बन्ने पक्की भवनको ठेक्का प्रक्रिया अघि बढेको प्रधानाध्यापक जोशीले बताउनु भयो ।
विद्यालयमा शौचालयको समेत अभाव हुँदा विद्यार्थी र शिक्षकहरू खुला ठाउँमै शौच गर्न बाध्य छन् । भौतिक संरचना अभावका करण विद्यार्थीको शिक्षामा गम्भीर असर परिरहेको स्थानीय अभिभावकहरूको समेत गुनासो छ ।
विद्यालयमा भवन अभावका कारण शैक्षिक क्रियाकलापमा समस्या आएको र भवन निर्माणका लागि पहल भइरहेको पुर्बीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनु भयो ।