INSEC Online

📅 २०८३ जेष्ठ २२

जातीय विभेद तथा छुवाछुत घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकमाथि जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा सोही गाउँपालिकाका अध्यक्ष विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ चैत ९ गते दिएको उजुरी प्रहरीले दर्ता गरेको छ ।

जनता आवास कार्यक्रमको सहयोगमा घर बनाएर बसिरहेका पीडित मरिकको घरमा फागुन ६ गते डोजर लगाई भत्काइदिएको आरोपमा औरही गाउँपालिकाका अध्यक्ष ५५ वर्षीय शिवजी यादव, जनमत पार्टीका अध्यक्ष ३६ वर्षी दीलिप यादव र नाम ठेगाना नखुलेको ७५ वर्षीय मूल पुरोहित बजरङ्गी बाबाविरुद्ध जातीय भेदभाव तथा छुवाछुत शीर्षकमा जिल्ला प्रहरी कार्यालय सिरहामा चैत ९ गते पीडित दीपकले उजुरी दिनु भएको हो ।

हामी बसेको जग्गामा विष्णु महायज्ञको तयारी गर्दैगर्दा औरही गाउँपालिकाले पत्राचार गरी कृषि बजारको लागि जग्गा खाली गर्न उर्दी जारी गरेको पीडित मरिकले बताउनु भयो । जनता आवास कार्यक्रममा घर बनेको र सो घरबाहेक आफूसँग जमिन नभएको गाउँपालिकालाई जानकारी गराएको भएपनि गाउँपालिकाले जबरजस्ती घर भत्काइ दिएको पीडितले बताउनु भयो ।

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले दलित भएकै कारणले मरिक परिवारको घर नभत्काएको बताउनु भयो । धनुषाबाट आएको बजरङ्गी बाबाले गाउँमा महायज्ञ गर्न सहयोग गर्न भनेको र महायज्ञबाट आएको रकम क्याम्पसका लागि खर्च हुन्छ भनेपछि महायज्ञको तयारी गरिएको गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो ।

अध्यक्ष यादवले संघीय सरकारको अनुदानमा कृषि बजारीकरणको लागि भवनहरू निर्माणका लागि ३ करोड २५ लाख रुपियाँ स्वीकृत भएको र यसको टेन्डर प्रक्रिया पनि पुरा भएको बताउनु भयो ।

कृषि बजार निर्माणको लागि निर्धारण गरिएको ठाउँमा दीपक मरिकको घर भएको र ऐलानी जग्गा खाली गर्ने क्रममा दीपक मरिकको घर हटाइएको अध्यक्ष यादवले बताउनु भयो । महायज्ञ सुरु भएपछि माछा मासु नखान भनेपनि दीपक मरिकको परिवारले अटेर गरेको अध्यक्ष यादवको भनाइ छ ।

दीपक मरिकको परिवारको व्यवहारले बाबाहरूलाई पनि असहज हुने र कृषि बजारीकरणको लागि पनि जग्गा खाली नै गराउने भएकोले दीपक मरिकको घर हटाउनु संयोग मात्र भएको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितले घटनाको जानकारी भएको र अनुसंधानको लागि गाउँपालिका अध्यक्ष र जनमत पार्टीका अध्यक्षलाई चैत ८ गते नै नियण्त्रनमा लिएको बताउनु भयो । पीडित पक्षबाट आएको उजुरी दर्ता गरी आरोपितहरूलाई जिल्ला अदालतबाट म्याद थप गराउने प्रक्रिया शुरु गरेको एसपी पण्डितले बताउनु भयो । अर्का आरोपित बाबाको खोज तलास भइरहेको उहाँले जानकारी दिनु भयो ।

घटनाको अनुगमन राष्ट्रिय मानवअधिकार आयोग, जनकपुरधाम र इन्सेक सिरहाको संयुक्त टोलीले चैत ७ र ८ गते गरेको थियो ।

नेपालको संविधानले धारा ३७ मा आवासको हकलाई व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ ।

संविधानले धारा ४० मा दलितको हकको व्यवस्था गरेको छ । सोही धाराको उपधारा ५ मा राज्यले भूमिहीन दलितलाई कानुनबमोजिम एक पटक जग्गा जमिन उपलब्ध गराउनुपर्ने, उपधारा ६ मा राज्यले आवासहीन दलितलाई कानुनबमोजिम बसोबासको व्यवस्था गर्ने उल्लेख छ ।

अन्य

भिडियो