आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन ।
६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला कुवँरलाई अर्को पीडा थपियो । चैत्र ९ गते दिउँसो १ बजे नजिकैको जङ्गलमा आगो लागेको थियो । घरगोठसम्मै आउन भन्ने कुवँरलाई थिएन् । तर, हावाले खरबारीहुँदै घरगोठसम्म आगो आइपुग्यो । कमलाले हारगुहार गर्दागर्दै आँखै अगाडि घरगोठ, दुई भैँसी, चार बाख्रा, कुखुरा, खाद्यान्य, लत्ताकपडा र नगद र गरगहनासहित सवै सम्पति आँखै अगाडि खरानी बने । कुवँर परिवारसँग खाने, लगाउने, ओड्ने ओछ्याउने केही पनि छैनन् ।
‘शरीरका कपडा बाहेक खाने र लगाउने केही रहेन । उहाँले भन्नुभयो – ‘दैवले असोजमा पतिलाई लग्यो अहिले घरगोठ । कहाँ बस्ने के खाने केहि सोच्न सकिरहेकी छैन ।’ जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुपेन्द्र थापाका अनुसार प्रारम्भिक रुपमा करिव २२ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
घरधनी कुवंर र छोरी बसन्तीसहित संरक्षणमा रहेका दुई बालिकाको बिचल्ली भएको छ । संरक्षणमा रहेका लक्ष्मी पाण्डेयले कालिका निमाविको कक्षा ८ र राधिका पाण्डेयले कक्षा २ मा पढ्नुहुन्छ । अहिले वार्षिक परीक्षा चलिरहेको छ । तर, सबै किताब कापी र पोशाकहरू आगोमा खरानी बनेको बसन्ती कुवँरले बताउनु भयो ।
बसन्ती कालिका निमाविको शिक्षिका हुनुहुन्छ । घरमा ल्याएका बिद्यार्थीका उत्तरपुस्तिकसहितका व्यक्तिगत तथा शैक्षिक सामग्री जलेर नष्ट भएको कुवंरले गुनासो गर्नुभयो । आगलागीको स्थलगत अनुगमनमा पुग्नु भएको इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतले अहिले स्थानीय रुपमा व्यावस्थापन गरिने र भोली गाउँपालिकाबाट राहतको काममा अगुवाई गर्ने बताउनु भयो । पीडित परिवार अहिले छिमेकीको आश्रयमा छन् ।
आगलागीबाट क्षति हुनेहरूलाई सरकारले तत्काल राहत दिएपनि दीर्घकालीन संरक्षण गर्न नसक्दा ठूलो समस्या हुने गरेको छ । लाभग्राही कायम गरेर घर निर्माणको सम्झौता गर्ने तर किस्ता नदिँदा गत वर्ष आगलागीले पीडित ७२ घर परिवार ऋणमा फसिरहेका छन् ।





