सरकारले बम विष्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप १० लाख रुपियाँ दिने निर्णय गरेको राससले जनाएको छ ।
प्रधानमन्त्री एवम् गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्सिर १३ गते बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मङ्सिर १२ गते विष्फोटमा घाइते भएका थिए । उपचारका क्रममा मङ्सिर १३ गते उनको निधन भएको हो ।
बैठकले निर्वाचन र शान्ति सुरक्षामा असर पार्न भएका बम विष्फोटन तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ । साथै बैठकले त्यस्ता घटनामा परी घाइते भएका व्यक्तिको उपचार र सुरक्षाको समुचित व्यवस्था गर्ने निर्णय गरेको गृहसचिव सापकोटाले बताए ।