कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ ।

कोशी प्रदेश सरकारको ०८१ चैत ७ गतेको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन चैत ७ गते मध्यराति अन्त्य गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताउनु भयो ।
प्रदेश प्रमुख परशुराम खापुङबाट नेपालको संविधान धारा १८१ को उपधारा २ बमोजिम कोशी प्रदेश सभाको चालु छैटौँ अधिवेशन चैत ७ गते मध्यरातिदेखि अन्त्य गर्ने सूचनाका आधारमा छैटौँ अधिवेशन अन्त्य गरिएको कार्यवहाक प्रदेशसभा सचिव गौतम राज अमात्यले बताउनु भयो ।
चालु छैटौँ अधिवेशन अन्त्य हुनुअघिको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रुपियाँ रकम बाँडफाँड गर्न स्वीकृत प्रदान प्रदान गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अरब ५० करोड तथा राजस्व बाँडफाडको अनुमान सीमा १ अरब १० करोड रुपियाँ स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।
बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरण का लागि १ करोड ५० लाख बाँडफाँड गर्न स्वीकृत प्रदान गरेको समेत जानकारी मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले स्वीकृत गरेको छ ।