INSEC Online

📅 २०८३ जेष्ठ २१

गण्डकी प्रदेशमा अपा‌ङ्गताको अधिकार संरक्षण विधेयक दर्ता

गण्डकी प्रदेशमा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, प्रवर्धन तथा प्रभावकारी कार्यान्वयनका लागि नयाँ विधेयक दर्ता भएको छ । गण्डकी प्रदेशमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयय ०८१ चैत ३ गते गण्डकी प्रदेश सभा सचिवालयमा दर्ता भएको सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले अपांगता भएका नागरिकहरूको हकहित सुनिश्चित गर्न तथा उनीहरूका लागि सहज, समान र सम्मानजनक जीवनयापनको व्यवस्था गर्न यो विधेयक ल्याएको हो । विधेयकमा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक यातायातमा पहुँच, सहायक प्रविधिको उपयोग तथा आत्मनिर्भर जीवनशैली विकासका लागि विभिन्न व्यवस्थाहरू समेटिएको छ ।

प्रदेश सरकारका अनुसार यो विधेयक पारित भइसकेपछि अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न विभिन्न योजनाहरू अघि बढाइनेछ । प्रदेश सभा सचिवालयका अनुसार विधेयकमाथि छलफलका लागि चाँडै नै प्रदेश सभामा छलफल हुनेछ । सम्बन्धित सरोकारवालाहरूले यस विधेयकलाई सकारात्मक पहलको रूपमा लिएका छन् भने केही क्षेत्रबाट विधेयकलाई अझ प्रभावकारी बनाउन सुझावहरू पनि आएका छन् ।

विधेयक पारित भएपछि गण्डकी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूलाई थप सुविधासहित समान अवसरको सुनिश्चितता हुने जनाइएको छ ।

अन्य

भिडियो