INSEC Online

📅 २०८३ जेष्ठ २२

दूषित बन्दै महाकाली नदी, स्वास्थ्यमा खेलवाड गरिएको नागरिकको गुनासो

महाकाली नदीलाई पवित्र तीर्थस्थल मानिन्छ । ऋषि पञ्चमी र माघे संक्रान्तिलगायत विभिन्न पर्वका बेला नदीमा सधैं धुपबत्ति बालिन्छ । कैलाशबाट बगेर आएको महाकाली नदी पवित्र भएकै कारण महिलाहरुले हरितालिका तीज लगायतको बेला त्यही नदीमा जलस्नान गर्छन् ।

महाकाली नदी धार्मिक रुपमा जति महत्वपूर्ण छ, सिँचाई र पिउने पानीका लागि पनि ठुलो महत्व छ । तर, पछिल्ला वर्ष फोहोरको व्यवस्थापन नगरी जथाभावी फोहोर गर्दा महाकाली नदी दूषित बन्दै गएको छ । जसका कारण मानव स्वास्थ्यमाथि नै खेलवाड गरिएको स्थानीयहरुको गुनासो छ ।

दशक अघिसम्म महाकालीको पानी सोझै पिउन लायक थियो । तर, अहिले प्रदुषणकै कारण नदीको पानी पिउन सकिने अवस्था नरहेको स्थानीय बताउँछन् । ‘किनारका बस्तीको सबै फोहोर नदीमै जान्छ,’ मालिकार्जुन गाउँपालिका–६ का दानीराम तिरुवाले भन्नुभयो, ‘बगरमा जताततै फोहोर मात्रै भरिएको छ ।’ हामीले माछा मार्ने, महाकाली नदीकै पानी खेतबारीमा प्रयोग गर्ने गर्र्छाै ।

बजार क्षेत्रको फोहोर महाकालीमै बिसर्जन गरिन्छ । किनारका बस्तीको ढल निकास पनि नदीमै छाडिएको छ । अझ कतिपय ठाउँमा मलमूत्रसमेत नदीमै मिसाइएको सहजै देखिन्छ । यसले महाकाली नदी दिन प्रतिदिन दूषित बन्दै गएको हो ।

व्याँस गाउँपालिका भएर बग्ने महाकाली नदी दार्चुला सदरमुकाम खलंगा पुग्दा निकै फोहोर बढेको छ । खलंगाको बजार क्षेत्रको ढल, व्यापारीले प्रयोग गर्ने बोतल लगायतका फोहोर महाकाली नदीमा विर्सजन गर्दा समस्या भएको हो ।

‘खलंगाको बंगाबगरदेखि गल्फै क्षेत्रका विभिन्न ठाउँमा अहिले पनि फोहोर नदी किनारमै देखिन्छन्,’ नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टले भन्नुभयो, ‘फोहोर व्यवस्थापनको लागि पटकपटक अनुरोध गर्दा पनि सुनुवाई भएन् ।’ महाकाली नदीको छेउछाउको फोहोर व्यवस्थापनको सन्दर्भमा महाकाली नदी स्वच्छता अभियानले पटकपटक प्रयास गर्दा पनि सार्थकता पाएको छैन् । फोहोरका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर हुनेप्रति सबै सचेत हुनुपर्नेमा उहाँको जोड छ ।

जिल्ला प्रशासन कार्यालयमै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर फोहोर हटाउने विषयमा निर्णय हुँदा समेत कार्यान्वयन भएको छैन् । अहिले पनि महाकाली छेउछाउमा फोहोर प्रशस्तै देख्न सकिन्छ ।

‘यहाँका व्यापारी तथा स्थानीयबासीले घरको ढल र प्लास्टिकजस्ता फोहोर सधैँ नदीमा फाल्ने गरेका कारण दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको महाकाली नदी स्वच्छता अभियानका संयोजक शंकरसिह धामीले बताउनु भयो । ‘नगरपालिकाले ढल निकासको व्यवस्थापन गर्न नसक्दा बजारमा निस्किने फोहर तथा स्थानीयवबासीले ढल सिधैं नदीमा फाल्ने गरेका छन्, यसले सधैं जसो महाकाली नदी दुर्गन्धित बन्दै गएको छ । अभियानका कारण थोरै भए पनि सेफ्टी ट्यांकी निर्माण थाले पनि नदीजन्य क्षेत्रमा फोहोर व्यवस्थापन हुन सकेको छैन् ।

बजारबाट निस्किने फोहर व्यवस्थापन महाकाली नगरपालिका–५ खेट्टेबगरमा सरसफाई केन्द्र बनाइएको भए पनि व्यापारीहरुले नदी किनारमै फोहोर फाल्दा समस्या हुँदै आएको महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले बताउनु भयो ।

धार्मिक आस्था बोकेको पवित्र महाकाली नदीमा फोहर थुप्रिन थालेपछि पानीको शुद्धता हराउँदै क्षारियपना बढ्दै गएको छ । फोहरको मात्रा बढ्दै जाँदा नदीमा बस्ने जलचर प्राणी हराउँदै जान थालेकोमा स्थानीय चिन्तित छन् । महाकाली नदी किनार क्षेत्रका नागरिक गर्मी मौसममा नदीको पानीमा नुहाउने, गाईबस्तुलाई खुवाउने, बालुवा झिक्ने र दाउरा संकलन जस्ता काम गर्दै आएका छन् ।

महाकाली नगरपालिकाको धाप, दत्तु सकार, मालिकार्जुनको जोलजीवि, उकु, लाली लगायतका नागरिक महाकाली नदीमा आश्रित छन् । महाकाली नदी फोहोर हुँदा नागरिकलाई  रोगको सङ्क्रमण बढ्ने खतरा हुन्छ, जिल्ला अस्पताल दार्चुलाका डाक्टर सञ्जीव श्रेष्ठले भन्नुभयो, नदीको फोहोर नदेखिएपछि दीर्घकालीन असर पार्न सक्छ ।

नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हकको व्यवस्था छ । उपधारा (१) मा भनिएको छ, प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ । यस्तै उपधारा (२) मा वातावरणीय प्रदुषण वा ह«ासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषक कानुन बमोजिम क्षतिपूर्ति पाउने हक छ ।

photo20250310darchula (2)

अन्य

भिडियो