बजेट अभावका कारण जिल्ला अस्पताल, डोटीको भवन निर्माण कार्यमा ढिलाई हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
२५ शैयामा सञ्चालित अस्पताललाई स्तरबृद्धि गरी ५० शैयाको बनाउने उद्देश्यले ०७७ सालबाट निर्माण थालिएको जिल्ला अस्पतालको भवन चार वर्ष बितिसक्दा समेत पुरा नभएपछि अस्पतालले सञ्चालन गर्दै आएको बाल पोषण गृह, स्तनपान कक्ष, दोस्रो शल्यक्रिया कक्षलगायतका महत्वपूर्ण सेवा प्रभावित भएका छन् ।
सघीय विशेष अनुदानतर्फको आर्थिक वर्ष ०७७ / ०७८ मा बजेट विनियोजन भएपछि ०७७ फागुन ७ गते अस्पतालले भ्याटसहित १० करोड २७ लाख २५ हजार ९ सय ७३ रुपियाँ २६ पैसामा केयस कन्स्ट्रक्सन, धनगढी, कैलालीसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीले सम्झौता अनुसार ०७९ फागुन ४ गतेसम्म भवन निर्माण गरिसक्नु पर्नेमा हालसम्म पनि भवन निर्माणको कार्य सम्पन्न नगरिएपछि स्थानीय बिरामीहरु मर्कामा परेको हुन् ।
कोभिड–१९ र मूल्य वृद्धिको कारण देखाउँदै निर्माण पक्षले सम्झौता अनुसार काम सम्पन्न गर्न नसकेपछि ०७९ फागुन ४ गतेदेखि ०८० माघ २१ गतेसम्मका लागि पहिलो पटक अस्पतालले म्याद थप गरिएको भए पनि बजेट अभावकै कारण काम सम्पन्न हुन नसकेको र हालसम्म भवनको भौतिक प्रगति ९२.७५ प्रतिशत रहेको निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षलाई ८ करोड ६५ लाख ७ हजार ७ सय २६ रुपियाँ भुक्तानी गरिसकिएको भए पनि बजेट अभावका कारण अन्य थप रकम भुक्तानी गर्न समस्या भएको र सोही कारणले सम्झौतामा उल्लेखित समय भित्र निर्माण कम्पन्नीले अस्पताल भनव निर्माण कार्य सम्पन्न नगरि दिदा अस्पतालले प्रवाह गरी रहेका स्वास्थ्य सेवाहरु प्रभावित हुँदै आएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुजित कुमार मण्डलले बताउनु भयो ।
भवनको निर्माण सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र संघीय स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयसम्म पहल गरिएको भए पनि हालसम्म बजेटको सुनिश्चितता हुन नसक्दा समस्या उत्पन्न भएको जिल्ला अस्पताल, डोटीका व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताउनु भयो ।
अस्पतालमा एउटा मात्रै शल्यक्रिया कक्ष हुँदा शल्यक्रिया कार्य चलिरहेको बेला अर्को आकस्मिक केस आउदा समस्या हुनेगरेको व्यवस्थापन समितिका अध्यक्ष नेपालीको भनाइ छ ।
आफूहरुले पाउनु पर्ने रकम भुक्तानी गरिएको अवस्थामा दुई महिन भित्र अस्पताल भवनका बाँकी काम सम्पन्न गरुी भवन हस्तान्त्रण गरिने निर्माण व्यवसायी कम्पनीका इन्जिनियर रमेश केसीले बताउनु भयो ।