INSEC Online

📅 २०८३ जेष्ठ २१

आगलागी पीडित वर्ष दिनसम्म किस्ताकै प्रतिक्षामा !

जिल्लामा गत वर्ष आगलागीले घरबास गुमेका गुल्मी जिल्लाका आगलागी पीडितले वर्षदिन पुग्न थाले पनि सरकारबाट पाउने किस्तानै पाउन सकेका छैनन् ।

आगोलागीबाट घरबास बिहिन भएका नागरिकको लागि तीनै तहका सरकारले साझेदारीमा आवास निर्माण गर्ने गर्छन् । तर, सङ्घ र प्रदेश सरकारले सम्झौता अनुसार दिने ३ लाख रुपियाँ रकम निकासा नगरेका कारण आवास निर्माण गरिसकेका आगलागी पीडित घरमा बस्न नसक्ने अवस्था आएको छ । आगलागी पीडितको आवास निर्माणका काम गरिरहेका निर्माण व्यावसायीहरु पनि गाउँ छोड्ने अवस्था आएको छ । इस्मा गाउँपालिका–४ की बिमला थापाले गत ०८१ वैशाख ८ गते आगलागीले घर ध्वस्त भएपछि ऋणधन गरेर घर निर्माण गरेका पनि ६ महिना पुग्न थाले । तर, घर निर्माण गरेको निर्माण व्यावसायीलाई रुप्पे दिन नसकेपछि घरमा बस्ने अवस्था नरहेको गुनासो गर्नुभयो ।

सुरुमा गाउँपालिकाले पहिलो किस्ता दिएकाले घडेरी खनेर घर निर्माण अगाडि बढाए पनि प्रदेश सरकार र सङ्घ सरकारले दिने रकम नपाउँदा बिचल्ली भएको आगलागी पीडित थापाले गुनासो गर्नुभयो । निर्माण व्यावसायीहरूले पनि किस्ताकै आशामा सामग्री जुटाएर काम सुरु गरे । तर, लाभग्राहीले सम्झौता अनुसारको रकम नपाएपछि सामग्री खरिद गरेको पसल र कामदारहरूको ज्याला समेत दिन नसकिएको निर्माण व्यावसायी केशव घर्तिले बताउनु भयो । गत वर्ष जिल्लाभर आगलागीका कारण १ सय ६९ घर गोठ जलेर नष्ट भएका थिए । एक सयभन्दा बढी पशुचौपायको जलेर मृत्यु भएको थियो । आगोलागीका कारण जिल्लामा सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको थियो ।

जिल्लाका १२ ओटा स्थानीय तहहरू मध्ये मदाने, मुसिकोट, धुर्कोट र रुरुक्षेत्रमा आगोले क्षति गरेको थियो । जिल्लामा विभिन्न सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौँको क्षति भएको हो । गत वर्ष जिल्लाका ८० ओटा सामुदायिक वनमा आगोलागी भएको छ । सयौँ नागरिक घरबार बिहिन भएका छन् । जिल्लाभर दुई हजार बढी हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको थियो । जिल्ला विपद् व्यावस्थापन समितिबाट लाभग्राही कामय गराएर पठाएपनि लामो समय पैसा दिन नसक्दा लज्जाबोध भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनुभयो ।

अन्य

भिडियो