शैल्यशिखर नगरपालिकाका वडा नम्बर ७ र ८ का नागरिकलाई खानेपानी अभाव हुँदा सास्ती भोग्नु परेको छ । वर्षौदेखि गाउँमा पानी नहुँदा हिउँदेयाममा सास्ती भोग्नुपरेको हो ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ७ र ८ का घोप्टे, देवस्थली र दोबाटाका बासिन्दाहरूले हिउँदेयाममा खानेपानीको चर्को समस्या भोग्ने गरेको शैल्यशिखर नगरपालिका–८ का गंगादत्त जोशीले बताउनु भयो । यो समस्या अहिलेको होइन्, उहाँले भन्नुभयो, वर्षौदेखि नागरिकले खानेपानी राम्रोसँग पिउन पाएका छैनन् ।
‘महिलाहरुले हिउँदको समयमा एक घण्टा हिडेर पानी बोक्ने गर्छन्,’ शैल्यशिखर नगरपालिका वडा नम्बर ७ की पार्वती जोशीले दुखेसो पोख्नु भयो, ‘हामीहरुको पानीको समस्या बारे बुझिदिने कोही भएनन् ।’ घरमा एक जनाले दिनभर गाग्री लिएर पानी थाप्न जानुपर्छ । बोकेकै पानीले घरको चुल्हो चौको, गाईबस्तुलाई खुवाउनेदेखि शौचालयसम्म प्रयोग गर्नु पर्छ ।
‘हिउँदमा घण्टौँ हिडेर पानी बोक्नु पर्ने यहाँका महिलाहरुको बाध्यता छ,’ वडा नम्बर ८ का अध्यक्ष केशवदत्त जोशीले भन्नुभयो, ‘खानेपानीको समस्या समाधान गर्न सबै एकजुट नहुँदा महिलाले पानी बोक्न सास्ती खेप्नुपरेको छ ।
शैल्यशिखरको दुवै वडाका दर्जनौबस्ती अहिले पनि खानेपानीको काकाकुल भोग्न बाध्य भएको वडा नम्बर ७ का अध्यक्ष पुष्पराज जोशीले बताउनु भयो ।

खानेपानी योजनामा राजनीतिकरण, कार्यान्वयनमा चूनौतिः
आर्थिक वर्ष ०७८ / ०७९ मा खानेपानी मन्त्रालयको खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत शैल्यशिखर नगरपालिका वडा नम्बर ७ र ८ को लागि भन्दै ‘देवल बन्तोली लिफ्ट खानेपानी योजना’ का लागि रातो किताबमा ३० लाख रुपियाँ बजेट परेको भए पनि राजनीतिकरणका कारण कार्यान्वयमा आउन नसकेको र प्रतिनिधि सभा सदस्य दिलेन्द्र बडुका कारण खानेपानी अयोजना बिबादमा परेका स्थानीयको आरोप छ ।
पूर्वमन्त्री समेत रहेका बडूले आफ्नो लेटर पेड प्रयोग गर्दै आर्थिक वर्ष ०८१ / ०८२ को जलवायु अनुकुलित बृहत खानेपानी योजनाको क्र.सं. २५३ मा उल्लेख भएको ‘देवल बन्तोली लिफ्ट खानेपानी योजना’ शैल्यशिखर ७ को स्कीम नम्बर ५ हुनु पर्नेमा अन्यथा भएकोले संसोधन गर्न भनिएको छ । यो पत्र बाहिरिएसँगै शैल्यशिखर नगरपालिका वडा नम्बर ७ र ८ का वडा अध्यक्ष साथै नगर प्रमुखले समेत विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।
शैल्यशिखर नगरपालिकाले खानेपानी मन्त्रालयलाई पत्रचार गर्दै आर्थिक वर्ष ०७८ / ०७९ बाटै वडा नम्बर ७ र ८ का ५ हजार नागरिकलाई खानेपानी पुर्याउने योजनाअनुरुप सुचारु भएको खानेपानी योजनाको पाँच ओटै स्किम कार्यान्वयनमा जानु पर्ने उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य बडूले चार ओटा स्किम र वडा नम्बर ८ लाई योजनाबाट हटाएर योजना संसोधन गर्न लगाएको भन्दै आपत्ति जनाएका छन् । बडूले स्किम नम्बर ५ बाट योजना अघि बढाउनु पर्ने आशय लेखेर पत्र पठाउनु भयो जसले एउटा वडा पूरै पानीबाट वञ्चित हुने अवस्था आएपछि विरोध भएको वडा नम्बर ८ का अध्यक्ष केशवदत्त जोशीले बताउनु भयो ।
शैल्यैशिखर नगरपालिकाका प्रमुख विजयसिह धामी, सोही नगरपालिका वडा नम्बर ७ का अध्यक्ष पुष्पराज जोशी र वडा नम्बर ८ का अध्यक्ष केशवदत्त जोशीले संयुक्त हस्ताक्षरित निवेदनमा तीन वर्ष अगाडि नै रातो किताबमा आएको योजनालाई संसोधन गरिएको आरोप लगाइएको छ ।
देवल बन्तोली लिफ्ट खानेपानी बनेपछि नागरिकलाई राहत हुने अपेक्षा थियो । सो योजनामा शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का तीन ओटा स्कीम १, २ र ३ तथा वडा नम्बर ७ का दुई ओटा स्कीम ४ र ५ सर्वे भएको थियो । सोहि अनुसार अहिले पनि स्किमको डीपीआर पूरा भएको छैन् । महाशाखाले अहिले पनि डीपिआरको विषयमा कमेन्ट लेखेर पठाएको बताइएको छ ।
खानेपानी महाशाखाका उपमहानिर्देशक रामचन्द्र काफ्ले आफूलाई योजनाको स्किम कटौतीको विषयमा जानकारी नभएको र रातो किताबमा प्रकाशित योजना काट्न नसकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस्तो नहुनु पर्ने हो । समयमै हामीलाई ध्यानाकर्षण गराउनु भयो । हामी सर्तक भएका छौँ ।’ नागरिकको खानेपानी समस्य समाधान गर्न खानेपानी योजना पुर्याउन विभागको तर्फबाट काम गरिने उहाँले बताउनु भयो ।