INSEC Online

📅 २०८३ जेष्ठ २२

अपाङ्गता परिचय पत्र नहुँदा सुरक्षा भत्ता पाउनबाट वञ्चित !

सिंजा गाउँपालिका–४ की ४५ वर्षीया अपाङ्गता भएकी व्यक्ति रत्ना कुमारी बुढाले अपाङ्गता परिचय पत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउन वञ्चित भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो – ‘सानै १४ वर्षको उमेरमा पोलिएर अपाङ्गता भएको हुँ ।’ दुवै खुट्टा पोलिएका हुन् । उहाँ ह्रवीलचियरमा आवातजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन् । उहाँसँग ह्रवीलचियर पनि नहुँदा घिश्रिएर हिँड्डुल गर्नुपर्ने अवस्था रहेको छ ।

दैलेख जिल्लाको महावु गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–१२, नारायण टोलमा बस्दै आउनुभएकी बुढाले सिंजा गाउँपालिका–४ का बलिचन्द्र बुढासँग २०७५ सालतिर विवाह भएको बताउनु भयो । उहाँको एक जना छोरा हुनुहुन्छ । गाउँघरमा हारगुहार गरेपछि छोराको जन्मदर्ता र आफ्नो नागरिकता बनेको उहाँको भनाइ छ । तर अहिलेसम्म पनि अपाङ्गता परिचय पत्र बनेको छैन । अपाङ्गता परिचय पत्र नहुँदा मासिक २ हजार रुपियाँ प्राप्त हुने सामजिक सुरक्षा भत्ता पाउन सकेको छैन । उहाँले भन्नुभयो – ‘अपाङ्गता परिचय पत्र नहुदा सहयोगी दाता आईएनएफबाट ह्रवीलचियर पनि प्राप्त गर्नु सकिएको छैन ।’

सामाजिक सुरक्षा भत्ता नपाउँदा दैनिक जीवनयापनमा समस्या भएको उहाँले बताउनु भयो । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले उहाँलाई ०८१ मङ्सिर ११ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको थियो । विगत लामो समयदेखि घरेलु हिंसा गरेको उहाँले बताउनु भयो । पीडित अपाङ्गता भएकोले परिचयपत्र समेत नबनाइदएको उहाँको गुनासो छ । पतिले हिंसा गर्न थालेपछि सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत सुर्खेतमा मङ्सिर १० गते मुद्दा दायर गर्नुभएको थियो । अदालतमा मुद्दाको लागि आवतजावतमा समस्या भएको भन्दै पीडितले आर्थिक समस्या र कानुनी प्रक्रियामा जानका लागि कानुनी शुल्कमा समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा मङ्सिर ४ गते निवेदन दिनुभएको थियो ।

पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको मङ्सिर १० गते बसेको सचिवालय बैठकको निर्णय अनुसार नगद १२ हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो । सिंजा गाउँपालिका–४ का वडाध्यक्ष रञ्जित बुढाका अनुसार उहाँ सुर्खेतमा बस्नु हुन्छ । सुर्खेतमा बस्ने भएकाले बसाइँसराइका लागि आधार भएको छैन । उहाँको नाममा कुनै पानी र बिजुलीको पनि प्रमाण नभएको र जग्गा जमिन पनि आफ्नो नाममा नभएकोले बसाइँसराइको कागज दिन समस्या भएको हो ।

वडाध्यक्ष बुढाले भन्नुभयो – ‘यही जुम्लामै अपाङ्गता परिचय पत्र बनाउन खोजेको भए बन्थ्यो । तर उहाँले सुर्खेतमा बस्ने भएकाले त्यतै परिचय पत्र बनाउन खोज्नु भयो । त्यसका लागि बसाइँसराइको प्रमाण चाहिन्छ । बसाइँसराइको प्रमाण दिनका लागि उहाँको नाममा जग्गाजमिन भएको प्रमाण हुनुपर्छ । उहाँ बस्ने वडाले सिफारिस दिएको खण्डमा बसाइँसराइको प्रमाण दिन सकिने अवस्था हुन्छ । तर अहिले कुनै आधार नभएकोले बसाइँसराइको प्रमाण दिन कानुनी रूपमा अटचन भएको हो ।’

अन्य

भिडियो