INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै छिमेकी १७ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा फागुन १५ गते उजुरी दर्ता भएको छ ।

नातेदारकहाँ पुर्‍याइदिन फागुन १४ गते मोटरसाइकलमा लगेका आरोपितले बिचबाटो एकान्तस्थलमा पुगेपछि बलात्कार गरेको पीडितले बताउनु भएको छ ।

पीडितको गुप्ताङ्गबाट अत्यधिक रक्तस्राव भइरहेको अवस्थामा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा फागुन १५ गतेदेखि भर्ना भएकी बालिकाको हालसम्म उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बालिकाको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको छ । बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन १५ गते भयो । पीडितको रगतलगायत परीक्षण र थप प्रमाण संकलनका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।

सीमावर्ती भारतीय क्षेत्रमा रहेका नातेदार बिरामी परेकाले त्यहाँसम्म पुर्‍याइदिन पीडितकी आमाले गरेको आग्रह अनुसार आरोपितले दिउँसो मोटरसाइकलमा बालिकालाई लगेकोमा साँझपख बेहोस अवस्थामा ल्याएर घरमा छाडिदिएको पीडितकी आमाले बताउनुभयो । बाटोमा बिरामी परेकाले ल्याउन ढिलो भयो भन्दै बालिकालाई घरमा फर्काएर गएपछि आरोपित गाउँबाट फरार रहेको उहाँले जानकारी दिनुभयो । छोरा जस्तो मान्दै आएको व्यक्तिबाट यस्तो घृणित काम भएको भन्दै पीडितकी आमाले आरोपितलाई अविलम्ब गिरफ्तार गरी कारबाहीको माग गर्नुभएको छ ।

पीडित परिवारबाट आएको उजुरी दर्ता गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताउनु भयो ।

अन्य

भिडियो