खार्पुनाथ गाउँपालिका–३, राया गाउँका स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानी अभावका कारण यस क्षेत्रका स्थानीयहरूले वर्षेनी सास्ती खेप्नुपरेको छ ।
०७२ सालमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गाउँमा धारा निर्माण गरेको भए पनि उक्त गाउँका घरहरू एक आपसमा जोडिएका कारण पानी पास गर्ने कुनै माध्यम नभएपछि गाउँका धाराहरूमा पानी नआएकै कारण स्थानीयले खोलाकै पानी प्रयोग गर्नुपरेको स्थानीय टेकबहादुर बुढाले गुनासो गर्नुभयो ।
उहाँका अनुसार बिचबिचमा निर्माण भएका धारामा पानी कहिलेकाहीँ आए पनि ओभर पानी पास गर्ने स्थान नै नभएका कारण स्थानीयले पानी प्रयोग गर्नबाट वञ्चित हुनु परेको हो । उक्त घरहरू सबैसँगै जोडिएकाले ढलनिकास नहुँदा स्थानीयका गोठमा पानी पसेर क्षेती बनाएका कारण धारामा पानी बन्द गरिएको र ढल नबन्दा स्थानीयहरूले एक घण्टा लगाएर खोलाको धमिलो पानी पिउनु परेको स्थानीय सुर्य रोकायाले जानकारी दिनुभयो ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा ग्रामीण जनउत्थान विकास कार्यक्रम (आरपियुडिपी) र कुति हिल्सा खानेपानी तथा सरसफाइ आयोजना निर्माण समितिको मिलेमोतोमा इनटेकदेखि धारासम्म गुणस्तरहिन पाइप राखेकाले पानीको प्रेसर थेक्न नसकी ठाउँठाउँमा पाइप फुटेकाले पनि धारामा पानी नआएको रोकायाको भनाइ छ । पछिल्लो समयमा पानीको श्रोत सुक्दा पानी नभएर अन्न पिस्ने आधुनिक घट्ट समेत थन्किएका छन् । उहाँका अनुसार गाउँमा धारा निर्माण भएको लामो समय बितिसक्दा समेत पानीको थोपा झरेको छैन ।
‘सरकारी तथा गैरसरकारी संस्था आए पनि घरमा धारा त बनाइदिन्छन् । तर पानिको समस्या कहिल्यै समाधान हुँदैन’ – रावलले गुनासो गर्नुभयो । गाउँका २ सय भन्दा बढी घरधुरीलाई लक्षित गरी ४० ओटा धारा निर्माण भएका छन् । खानेपानीको व्यवस्थापनका लागि उपभोक्ता समिति समेत गठन गरिएको छ । उपभोक्ता समिति, सम्बन्धित सहयोगी निकायको लापरबाहीका कारण आयोजना अलपत्र परेको स्थानीयबासीको भनाइ छ । कमजोरी पाइप खरिद गरिएका कारण स्थानियले वर्षौँदेखि समस्या व्यहोर्नु परेको छ । सो विषयमा खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले राय गाउँमा ढल निर्माण नभएकोले यस्तो समस्या आएको बताउनु भयो । ढल निर्माणका लागि प्रदेश सरकारसंग पहल भईरहेको अधिकृत शाहीको भनाइ छ ।